
प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिकाले करिब पाँच महिना अगाडि खरिद गरेको मर्चरी च्याम्बर (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) प्राथमिक स्वास्थ्य चौकी राजापुरको चौरमा अलपत्र अवस्थामा रहेको छ ।
पालिकाले प्राथमिक स्वास्थ्य केन्द्रका लागि भन्दै करिब पाँच महिना अगाडि पाँच लाख ६५ हजारमा च्याम्बर खरिद गरेको थियो । पालिकाले च्याम्बर राख्नका लागि आवश्यक पर्ने संरचना निर्माण नै नगरी च्याम्बर खरिद गरेको हुँदा च्याम्बर हालसम्म अलपत्र अवस्थामा रहेको छ भने हालसम्म च्याम्बर पनि सञ्चालनका आउन सकेको छैन । च्याम्बरलाई त्रिपालले छोपेर राखिएको छ ।

पालिकाले च्याम्बर राख्नका लागि आवश्यक पर्ने अन्य संरचना निर्माण नगरी च्याम्बर खरिद गर्न हतार गरेको देखिएको राजापुर नगरपालिका, ७ का ३० वर्षीय सागर परियारले बताउनु भयो । ‘ पालिकामा मृतकको शवलाई सुरक्षित राख्नका लागि मर्चरी च्याम्बर आवश्यक भएको भएपनि च्याम्बर राख्नका लागि आवश्यक पर्ने संरचना निर्माण नगरीच्याम्बर खरिद पालिकाको लापरवाही हो’,उहाँले भन्नुभयो,‘ पालिकाले खरिद गर्ने सामानलाई कसरी सुरक्षित राख्ने भन्नेतर्फ ध्यान नदिएर हतार हतारमा च्याम्बर खरिद गर्दा पाँच महिनादेखि च्याम्बर अलपत्र अवस्थामा चौरमा नै रहेको छ । यो पालिकाको लापरबाही नै हो ।’
पालिकाका अधिकृत आनन्दप्रसाद जैसीले पालिकाले माघ ८ गते सिलबन्दी दरभाउ पत्र माग गरेर मर्चरी च्याम्बर खरिद गरिएको बताउनु भयो । उहाँले शव च्याम्बर अनन्या साइन्टिफिक ट्रेडस प्रालि बाँकेबाट पाँच लाख ६५ हजारमा खरिद गरी फागुन १५ गते भुक्तानी समेत गरिएको जानकारी दिनुभयो ।
राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले स्वास्थ्य संस्थामा रहेको घर भन्दा च्याम्बरको साइज ठुलो भएकोले पनि च्याम्बर बाहिर राखिएको बताए । उहाँले भन्नुभयो, ‘ च्याम्बर राख्ने घर बन्दै छ, घर बन्ने बितिकै च्याम्बर सुरक्षित रुपमा राखिन्छ ।’


