
प्रकाश पौडेल, गुलरिया । गुलरिया नगरपालिकाले ४१ उपभोक्ता समितिबाट ४८ लाख ६७ हजार ४ सय ३१ रुपैयाँ असुल उपर गर्नुपर्ने भएको छ । पालिकाले विभिन्न वडामा उपभोक्ता समिति मार्फत सञ्चालन गरेको नाला तथा कल्भर्ट निर्माण, माटो पटानी , कालोपत्रे र ग्राभेल गर्दा बढी भुक्तानी दिएको ४८ लाख ६७ हजार ४ सय ३१ रकम असुल उपर गर्नु पर्ने भएको हो ।
महालेखा परीक्षकको प्रतिवेदन २०८०/०८१ मा पालिकाले उपभोक्ता समिति मार्फत काम गराउँदा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा स्वीकृत नम्र्स बमोजिम दररेट निर्धारण समितिले तोकेको दररेटको आधारमा निर्माण कार्यको लागत अनुमान तयार गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘नियम ९७ बमोजिम उपभोक्ता समिति वा लाभग्राही समुदायले हरेक किस्ताको कामको प्राविधिक मूल्याङ्कन बिल भरपाई खर्च प्रमाणित गर्ने अन्य कागजात यस्तो समितिको समुदायको बैठकबाट अनुमोदन गराई सम्बन्धित सार्वजनिक निकायमा पेश गर्नुपर्ने व्यवस्था छ ।’

‘ उपभोक्ता समिति मार्फत ग्राभेल गर्दा ग्राभेलको दर विश्लेषणमा रोयल्टी रकम समेत समावेश गरेकोमा समितिले जुन स्थानबाट निर्माण सामाग्री ल्याएको सो स्थानमा रोयल्टी तिरेको प्रमाण संलग्न नगरेको ’ महालेखाको प्रतिवदेनमा उल्लेख गरिएको छ । ’
त्यसैगरी ग्राभेल कार्यमा समावेश भएको प्रति घनमिटर रोयल्टी २८२. २४ रुपैयाँको दरले समितिलाई कालोपत्रे र पक्की नाला तथा ग्राभेल कार्यमा ५ र १५ प्रतिशत र सडक बोर्ड तर्फ १० प्रतिशतले जनश्रमदान बापत रकम कट्टा गरिएको भएपनि पालिकाले ४८ लाख ६७ हजार ४ सय ३१ रुपैयाँ बढी भुक्तानी दिएकोले रोयल्टी बापतको रकम उपभोक्ता समितिबाट असुल गर्ने प्रतिवेदनमा भनिएको छ ।



