
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वसन्ध्यामा साइकल र्याली निकालिएको छ । डिभाइन युथ क्लब नेपालको आयोजनामा साइकल र्याली निकालिएको हो ।
युवाहरूमा आध्यात्मिक चेतना अभिवृद्धि र महोत्सवको प्रचारप्रसारलाई उद्देश्य बनाई आयोजना गरिएको उक्त र्यालीमा झण्डै २०० युवाको उत्साहजनक सहभागिता रहेको थियो।साइकल र्यालीको शनिबार बिहान बिहान ७ बजे पशुपतिनाथ मन्दिर परिसरस्थित वन कालीको श्री कृपालु स्मृति उद्यानबाट श्री राधा माधव समिति नेपाल द्वारा शुभकामना दिदै शुभारम्भ गरिएको थियो।

र्यालीले बत्तीसपुतली, पुरानो बानेश्वर, डिल्लीबजार, सुन्धारा हुँदै ऐतिहासिक वसन्तपुर हनुमानढोका परिसर लगायतका विभिन्न ठाउँमा पुगेको थियो । वसन्तपुरमा नेपाल स्काउट सिद्धीगणेश ओपन स्काउट तथा काठमाडौँ दरबार क्षेत्र पर्यटन प्रवर्द्धन सङ्घद्वारा साइकल यात्रीहरूलाई भव्य स्वागत एवं मायाको चिनो दिई कार्यक्रममा हौसला प्रदान गरिएको थियो।साइकल र्याली वसन्तपुर तथा पाटन कृष्ण मन्दिर परिसरमा पुग्दाँ त्यहाँ भजन, कीर्तन, नाचगान लगायतका सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनायो। उपस्थित स्थानीय बासिन्दा र भक्तजनहरू श्रीकृष्ण भजन, कीर्तन तथा आध्यात्मिक नृत्यमा रमाउँदै श्रीकृष्ण प्रति समर्पित भावनामा तल्लीन देखिन्थे।

श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम भव्य रूपमा श्री भक्ति मन्दिर, श्याम श्याम धाम, राधे राधे, भक्तपुरमा आयोजना हुँदैछ। डिभाइन युथ क्लब नेपालले सम्पूर्ण श्रद्धालु, भक्त तथा र्यालीको मार्फत महोत्सवमा सहभागी भई लाभ लिन हार्दिक निमन्त्रणा गरेको विगतका वर्षहरूमा पनि यसै स्थानमा हजारौं श्रद्धालु भक्तजनहरूले पूजा, दर्शन तथा भजनकीर्तन सहभागी भई श्रीकृष्ण जन्मको पर्व अत्यन्त भव्यताका साथ मनाउँदै आएका छन्।
डिभाइन युथ क्लब नेपालले देशभरका युवाहरूलाई समेट्दै अध्यात्म, नैतिक शिक्षा, सेवा भावना र संस्कृतिक संरक्षणमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।


