
कृष्णसार अनलाइन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार उद्घाटन गर्नुभएको छ ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढङ्ग र सङ्कल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतीको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
मधेश प्रदेश सरकार, गृह सञ्चार तथा कानून मन्त्रालय जनकपुरधामको बजेटबाट कुल २३ करोड ५४ लाख ८८ हजार ९ सय ११ रुपैयाँ ४१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।


