bardiyahospital

 विद्यालयमा व्यवहारिक सीप सिक्दै विद्यार्थी

Geruwa GIF

सुदीप अधिकारी, बर्दिया ।  सधैँ कापी किताब अगाडि राखेर पढ्न बस्ने विद्यार्थी शुक्रबारको दिन भने कापी किताबको सट्टा हातमा सालको पात र बाँसको सिन्का फिजाएर बसेका थिए । केहीको हातमा खरानी र बत्ती कात्ने कपास पनि थियो । विद्यालयमा मध्यान्तर भए लगत्तै विद्यार्थीहरू विद्यालयको सभाहलमा समूह अनुसार विभाजन भएर बसे ।

सबैको अगाडि सालको पात फिजिएको थियो । झट्ट हेर्दा त विद्यालयको माहोल कसैको भोजभतेरका लागि दुनाटपरी गास्न विद्यार्थीलाई प्रयोग गरेको जस्तो देखिन्थ्यो । तर त्यो दृश्य कसैको भोजभतेरका लागि नभएर ठाकुरबाबा नगरपालिकास्थित चुरे माध्यमिक विद्यालय बगनाहाले शुक्रबार विद्यालयमा आयोजना गरको दुनाटपरी गाँस्नै र बत्ती कात्ने सीप सिकाइ तथा प्रतियोगिता सञ्चालन गरेको थियो । कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरू उक्त कार्यमा सहभागी थिएका थिए । विद्यार्थीहरूलाई शिक्षकहरूले दुनाटपरी गास्न र बत्ती कात्न सिकाइरहेका थिए । आफ्नो समूहको दुनाटपरी र बत्ती कसरी राम्रो बनाउने भन्नेमा विद्यार्थीहरूको ध्यान थियो । राम्रो सीप भएकाले आफ्नो साथीलाई सघाएको देखिन्थ्यो । 

cld

 ‘निकै रमाइलो लागेको छ । घरमा कहिलेकाँही दुनाटपरी गाँस्थे । आज विद्यालयमै साथीभाइसँगै गास्न पाउँदा रमाइलो भएको छ’, कक्षा ५ की छात्रा सञ्जना थारूले सुनाइन् । फरक किसिमको क्रियाकलाप भएकाले विद्यार्थीहरू निकै उत्साहित देखिन्थे । ससाना विद्यार्थीहरू दुनाटपरी गाँसेको र बत्ती कातेको हेर्नका लागि तँछाडमछाड देखिन्थे । विद्यार्थीको कक्षागत समूहलाई शिक्षकहरूले सहजीकरण गरेका थिए ।

दुनाटपरीको लागि चाहिने सालको पात र सिन्का विद्यार्थी आफैले व्यवस्था गरेका थिए । बत्तीका लागि कपास भने विद्यालयले व्यवस्था गरेको थियो । विद्यार्थीहरूका लागि विद्यालयले केही दिन अधि दुनाटपरी गास्न सिकाउने तालिम आयोजना गरेको थियो । सो तालिममा छात्रछात्रा दुबै सहभागी भएका थिए । तालिममा सिकेको सीप परीक्षणका लागि दुनाटपरी गाँस्ने बत्ती कात्ने सीप सिकाइ तथा प्रतियोगिता आयोजना गरिएको विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक उमा भट्टराईले बताइन् । 

 विद्यालयमै जीवनोपयोगी सीप सिकेर प्रतियोगितामा सहभागी हुन पाउँदा निकै खुशी लागेको विद्यार्थीहरूले प्रतिक्रिया दिए । कक्षा १० का छात्र आर्नोल थारूले खुशी व्यक्त गर्दै सुनाए, ‘दैनिक जीवनमा प्रयोग हुने सीप पनि विद्यालयमा सिक्न पाइयो । आज त्यही सीपको प्रतियोगितामा सहभागी हुँदा निकै खुशी लागेको छ ।’ दुनाटपरी प्रायः छात्राहरूले गाँस्ने भएपनि छात्रासँगै छात्रहरू पनि रमाइलो मान्दै सहभागी भएका थिए । राम्रो दुनाटपरी बनाउने समूहलाई पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप संयोजक भट्टराईले बताइन् ।

दुनाटपरी गास्न र बत्ती कात्ने यस्तो फरक किसिमको सिकाइ तथा प्रतियोगिताले विद्यार्थीमा व्यवहारिक ज्ञानको विकास हुने शिक्षकहरू बताउँछन् । विद्यालयमा प्राय शिक्षण सिकाइ क्रियाकलापसँग सम्बन्धित प्रतियोगिता मात्र हुने गर्छन् । तर यो दैनिक जीवनमा प्रयोग हुने सीप प्रदर्शन गर्ने प्रतियोगिता भएकाले निकै उपलब्धिमूलक रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति सदस्य खगेन्द्र नेपालले बताए । यो क्रियाकलापलाई व्यवहारिक सीपसँगै विद्यार्थीको प्रयोगात्मक मूल्याङ्कनसँग पनि जोडिएको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादवले बताए ।  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.