
_डाक्टर घनश्याम परिश्रमी
भकारीहरू

यहाँ प्रवेश पाउँदैनन्
किनभने,
तिनको आवश्यकता छैन
यहाँ दाईँ नै हुँदैन,
दराज र पलङहरू
यहाँ देखिँदैनन्
किनभने,
तिनको पहुँच नै हुँदैन
ठाउँ छैन
सामर्थ्य पनि छैन,
यहाँ आआफ्ना
कोठाहरू छैनन्
किनभने,
फराकिला छैनन्
यिनका आयत र चतुष्काेणहरू
भान्सा त्यहीँ छ
ओछ्यानहरू त्यहीँ छन्
लुगाफाटा, पोकापुन्तुरा
नुन, तेल, बेसार,
पिठाे , दाल र चामल
सबै त्यहीँ अटाएका छन्
यहाँ कृपया नसोध्नुहोला
वासरूम, बाथरुम, ट्वाइलेट
चर्पी छ अस्थायी
कतै बाहिर
धारा अलिक पर छ
सार्वजनिक !
यो श्रमिकहरूको बस्ती हो
यो मजदुरी गर्नेहरूको समुदाय हो
अलि पर सहरको छेउमा
कारखानामा
सस्तोमा सीप बेच्नेहरू
बस्छन् यहाँ
मालिक भनेर चिनिने
जमिनदारका खेतमा
निलो पसिना पाेख्नेहरू पनि
बस्छन् यहाँ
सीप र पसिनाको
इमानदारी र स्वाभिमान
यहाँका आत्माहरूको
रातो सान हो, सेतो पहिचान हो
यहाँ पनि
मनाइन्छन्
चाडपर्वहरू रमाएर
गाइन्छन्
सुमधुर लयमा
प्रीति, मुक्ति र श्रमका गीतहरू
भाका मिलाएर
किन्तु,
यहाँ जीवनका
अनेक जटिलता छन्
अनि
सामना गर्ने कला छ
जब वर्षा आरम्भ हुन्छ
त्रासका भूतहरू पस्छन् यहाँ
पहाडतिर पहिरोका
मधेसतिर डुबानका
नदी छेउछाउतिर कटानका
समाजशास्त्रका
संवेदनशील
विषय छन् यहाँ
अनुसन्धानका लागि
बुझ्न चाहनेहरूका लागि
पठनीय पुस्तक हुन्
झुपडीहरूका बस्ती !!


