
कृष्णसार अनलाइन । प्रदर्शनकारी माथि बल प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । युवाहरूले सञ्चालन गरेको जेनजी प्रदर्शनमा बल प्रयोग नगर्न सुरक्षाकर्मीलाई आयोगले आग्रह गरेको हो ।
सरकारले फेसबुक, ट्विटर, युट्युब लगायत अन्य सामाजिक सञ्जाल माथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले काठमाडौँ लगायत देशका विभिन्न शहरमा प्रदर्शन गरेको छ । युवाले गरेको आन्दोलनमा सरकारले दमन गर्दा १९ जनाको मृत्यु भएको छन् । भने ३ सय ४७ जना घाइते भएका छन् । आन्दोलनमा सरकारले गरेको दमन प्रति मानव अधिकार उल्लङ्घनको जोखिम प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । साथै आयोगले अनुगमन टोलीहरू गठन गरी अनुगमन गर्दा अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको जनाएको छ ।

माइतीघरबाट शुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ । प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको छ । आयोगले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
अतः यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रुपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई समेत आयोगले अनुरोध गरेको छ ।


