
कृष्णसार अनलाइन । काठमाडौँमा जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) ले भर्त्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले ०८२ भदौ २३ गते काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोगको हामी भर्त्सना गर्दछौँ । पूर्व घोषित कार्यक्रम अनुसार माइतीघरमा भेला भई बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा १५ जनाको मृत्यु र समाचार सङ्कलनमा रहेका पत्रकारसहित सयौँ घाइते भएका छन् ।

विज्ञप्तिमा निशस्त्र प्रदर्शन नियन्त्रण गर्ने अनेकौँ तरिका अवलम्बन नगरी अत्यधिक बल प्रयोग गरिँदा भएको हताहतिले मानव अधिकार, लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको उल्लेख गरिएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको न्यायिक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन, घाइतेहरूको शीघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन र आक्रोशित युवाहरूलाई सहमतिमा ल्याई शान्ति र अमनचयन कायम गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ।


