
कृष्णसार अनलाइन । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका– ११, टडुवाकी ३६ वर्षीया कविता तामाङ रानाको मृत्यु भएको हो ।
घरनजिकको नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्न गएकी रानालाई बिहान ९ बजे चितुवाको आक्रमणबाट गर्दा मृत्यु भएको वडा १२ अध्यक्ष रामकुमार थारूले जानकारी दिनुभयो ।

एक महिला पहिला यसै वडाकी जगतरानी थारूको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । गाउँमा दिनहुँजस्तो चितुवा आएर कुकुर, बाख्रा लगायतका घरपालुवा जनावर खाने गरेको स्थानीय भूपेन्द्र बिसीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाउँमा चितुवा देखिन थालेपछी स्थानीय त्रसित बनेका छन् भने विद्यालयमा जान विद्यार्थी यही बाटो भएर हिँड्छन्, उनीहरूलाई पनि विद्यालय जान डर भएको छ ।’
डिभिजन वन कार्यालय बर्दियाको कार्यालय प्रमुखलाई पटकपटक फोन गर्दा पनि फोन नउठाउने गरेको बिसीले गुनासो गर्नुभयो । गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट चारजनाको मृत्यु भएको थियो । जसमध्ये दुईजना गुलरियाका रहेका थिए ।


