
दलबहादुर सुनार, बढैयाताल । बडादसैं नजिकिँदै जाँदा दुर्गाभवानीको मूर्तिको माग बढेको छ । मूर्तिको माग बढेसँगै गुलरिया नगरपालिका –११ लालपुरका मूर्तिकार बर्मानन्द कुर्मी मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो सीप र सिर्जनालाई पेशामा रूपान्तरण गर्नु भएको छ । मूर्ति बनाउने कर्मबाट नै उहाँ स्वरोजगार समेत हुनु भएको छ । चाडपर्व सुरु भएसँगै विभिन्न देविदेवताको मूर्ति बनाउन व्यस्त हुने गर्नु भएको छ ।
आफ्नो काममा अब्बल रहनु भएको कुर्मी ग्राहकको माग अनुसारका मूर्ति बनाउने मात्र नभएर समयमा मूर्ति दिने हुँदा उहाँले कयौँको मन समेत जित्नु भएको छ । कुर्मीले मूर्ति निर्माया गर्न थालेको पनि १८ वर्ष भएको छ । मूर्ति निर्माण गरी बिक्री गर्न उहाँले गुलरिया नेपालगन्ज हुलाकी राजमार्ग छेउको गणेशपुर चोक नजिकको घर भाडामा लिनु भएको छ । सुरुमा घरमा नै मूर्ति बनाउनु थाल्नु भएको कुर्मीले मूर्तिको माग बढेसँगै घर भाडामा लिएर मूर्ति बनाउन सुरु भएको हो । पछिल्लो समय भारतको लौकही बजारबाट मूर्तिको अर्डर आउने गरेको कुर्मी बताउनु हुन्छ । गत वर्षझैँ यस वर्षको बडादशैंमा लक्षित गरेर कुर्मी दुर्गाभवानीका मूर्ति बनाउनु भएको छ ।


उहाँले देविदेवताको मूर्ति साइज हेरेर बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मूर्तिको आकार र हेरेर १६ हजारदेखि २२ हजार रुपैयाँमा मूर्ति बिक्री हुन्छ । एउटा सेटमा दुर्गा, देवी, गणेश, कार्तिकेय, सरस्वती, लक्ष्मी, बाघ र राक्षसका मूर्ति समावेश हुन्छ ।’सामान्यतया एकसेट मूर्ति बनाउन १२ देखि १५ दिन लाग्ने कुर्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मूर्ति निर्माणका लागि पाँच प्रकारका माटो, बाँस, पराल, सुतरी, काँटी, रङ र सिँगारका सामग्री आवश्यक पर्छ ।’
कुर्मी जस्तै अर्का युवा मूर्तिकार अरुण कुमार ठठेरले लगन सीप र सिर्जनालाई व्यवहारमा उतार्न सके घरमा नै बसेर पनि आर्थिक आर्यआर्जन नगर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिला दुर्गा भवानीको मूर्तिका लिन भारत जानु पद्थ्यो । तर अहिले हामीले निर्माण गरेका मूर्ति भारत लैजाने क्रम बढेको छ । तर अझै मूर्ति निर्माणको काममा बारेमा पर्याप्त मात्रामा प्रचारप्रसार नहुँदा सिजनमा मात्र मूर्ति बनाउनु पर्ने बाध्यता छ ।’
स्थानीय सरकारले आवश्यक सामग्री, रङ, रोगन गर्नका लागि स्प्रे मेसिन जस्ता उपकरण उपलब्ध गराए छोटो समयमा बढी मूर्ति उत्पादन गर्न सकिने उहाँहरूको भनाई रहेको छ । बडादसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा विस्तार हुँदै गएको छ । जसले गर्दा दुर्गा भवानीको मूर्तिको माग वर्षेनी बढ्ने देखिन्छ ।



