
प्रकाश पौडेल, गुलरिया । भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय बर्दियाबाट सेवा लिदाँ अतिरिक्त रकम दिनुपर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीले अतिरिक्त रकम ( घुस ) नदिए काममा ढिलासुस्ती हुने र एकदिनमा हुने कामका लागि कयौँ दिन आउनु पर्ने गुनासो गरेका हुन ।
कार्यालयमा काम गर्न जाँदा पैसा नदिए कर्मचारी इन्टरनेट सर्भर डाउन छ,, कागजात मिलेन भनी सानो भन्दा सानो कमजोरी निकालेर अनावश्यक दुस्ख दिने गरेको छन् । पहिला हुँदैन भनिएको काम पनि पैसा दिएपछि सजिलै हुने गरेको छ ।

स्थानीयको गुनासो बढेसँगै कृष्णसार अनलाइनले बर्दियामा रहेको भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा विभिन्न बहानामा घुस दिनुपर्छ वा पर्दैन ? आफ्नो अभिमत व्यक्त गर्नुहोस् । भनेर अभिमत संकलन गरेको थियो । अभिमत संकलन गर्दा ४७ प्रतिशतले घुस दिनुपर्छ भन्ने सुनेको छु, ४३ प्रतिशतले घुस दिनुपर्छ , ८ प्रतिशत घुस दिनु पर्दैन, २ प्रतिशतले खोइ थाहा भएन भन्ने २ मत व्यक्त गर्नु भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बर्दियामा प्रमुख बाल कृष्ण रानाले मालपोत र नापी कार्यालय जग्गाको काम गर्ने र जनतासँग प्रत्यक्ष जोडिएको कार्यालय भएको बताउनु भयो । ‘काम गर्दा कतिपय काममा सुधिएर जाने र सुधारिएर जाने विषय रहेको छ’ उहाँले भन्नुभयो, ‘काम गर्दा आउने सेवाग्राहीले आवश्यक पर्ने कागजात पुरा गरेर ल्याएमा काम हुन्छ । कागजात पुरा नभएमा काम पुरा गरेर ल्याउन भनिएको छ । कागजात पुरा भएको काम तत्काल गरी पठाउने गरिएको छ ।’
जग्गाको काम र कारोबार गर्दा अनलाइनबाट हुने जानकारी दिर्दै उहाँले भन्नुभयो, ‘ भू–सेवा केन्द्रबाट आएको कागजातको आधारमा काम हुने भएकोले बाहिर हुने गतिविधिको बारेमा हामीलाई थाहा हुँदैन । हामीले हेर्ने कुरा भनेका डकुमेन्ट मिलेको छ, कागजात मिलेको छ भने काम गरिदिन हो । यदि कसैले आर्थिक लेनदेनको कुरा गरेमा लिखित उजुरी वा गुनासो गर्नुपर्यो कसले कति कति कारणले गर्दा त्यसो गरेको त्यसलाई त्यसलाई पहिचान गरी कारवाही हुन्छ । कार्यालयमा आएर बिचौलियाको भूमिका निर्वाह गर्नेलाई निरुत्साहित गर्नु जरुरी रहेको छ । काम गराउन आउँदा कर्मचारी र सेवाग्राही बीच सोझौ काम गर्ने वातावरण सृजना गरिने उहाँले बताउनु भयो ।
नापी कार्यालय गुलरियाका कार्यालय प्रमुख धर्मराज ओझाले नापी कार्यालयले गर्ने काम र भूमिसुधार तथा मालपोत कार्यालयले गर्ने काम अलिकति फरक भएको बताउनु भयो । नापी कार्यालयबाट सोझो हुने काम भनेको नक्सा निकाल्ने फिल्डबुक उत्तार , फिल्ड रेखाङ्कन काम नापी कार्यालयमा निवेदन दिएर सोझो हुने काम भएको जानकारी दिनुभयो । जग्गाको कित्ताकाट गर्ने काम भूमिसुधार तथा मालपोत कार्यालयबाट काम भएको बताउनु । उहाँले भन्नुभयो, ‘ नापी कार्यालयबाट सेवा लिन आउँदा कसैले नराम्रो व्यवहार गरे वा हुने काम गराउन आउँदा कसैले राजस्व बाहेकको रकम मागेमा कोठा नंं १ मा आएर जानकारी गराउन आग्रह गर्छ ।यदी कसैले राजस्व बाहेक अन्य रकम माग गरेमा मलाई सोझै भन्नुहोला ।
भूमिसुधार तथा मालपोत कार्यालयबाट हुने जग्गा किनबेच , जग्गा रोक्का राख्दा तथा फुक्का गर्दा, जग्गाको कित्ताकाट गर्दा राजस्व बाहेक घुस दिनेको काम छिटोछरितो तरिकाले हुने गरेको छ ।


