
कृष्णसार अनलाइन । बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । निकुञ्जभित्र रहेका हात्ती, गैँडा, नीलगाई सहित मृग प्रजाति लगायतको वन्यजन्तुको लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको हो ।
निकुञ्जभित्र साना र ठूला गरी फैलिएको २२ घाँसे मैदान रहेको छ । घाँसे मैदान व्यवस्थापन कार्य अन्तरगत ग्राँस कटरको प्रयोग गरी घाँस काट्ने, मिचाहा प्रजाति बिरुवा काट्ने र घाँसे मैदान बनाउने काम गर्ने गरिएको निकुञ्ज वरिष्ठ संरक्षण अधिकृत एवम् सूचना अधिकारी सरोजमणी पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘वन्यजन्तुलाई नरम घाँस मन पर्ने भएकोले पनि वर्षमा दुई पटक घाँसे मैदान व्यवस्थापन गर्ने गरिएको छ । घाँस मैदान व्यवस्थापन गर्दा आधा आधा गरेर घाँसे मैदानको काम गर्ने गरिएको छ ।’

निकुञ्जभित्र बगौरा फाँटा, लम्कौली फाँटा, बाघ मचान, गैंडा मचान फाँटा, धनेश ताल फाँटा, चित्तल फाँटा, कुसुम फाँटा, किंग फिषर फाँटा लगाएरको घाँसे मैदान रहेको छ । जहाँ हात्ती, गैँडा, निलगाई मृग प्रजातिको वन्यजन्तु चरिचरणको लागि आउने गर्छन् ।



