
कृष्णसार अनलाइन । बर्दियामा ३६ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा न्यानो लत्ताकपडा वितरण गरिएको छ । मधुवन नगरपालिका– १, पत्थरबोझीमा रहेको सरस्वती आधारभूत विद्यालयमा रहेका ३९ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयमा रहेका २८ जना छात्र र ११ जना छात्रालाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘विद्यायलले अभिभावकविहीन बालबालिकाको लागि छात्रावासको व्यवस्थापन गरी विद्यालयमा राखिएको छ। ’

अभिभावकविहीन बालबालिकालाई विद्यालयमा राख्दा सुरु बालबालिका भुइँमा सुतेको दिनको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय स्रोतसाधनको व्यवस्थापन हुँदै जाँदा केही सहज भएको छ । तर, यतिले मात्र पुग्दैन । अझै पनि विद्यालयमा विद्यार्थीका लागि धेरै गर्नु छ ।’
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले अभिभावकविहीन बालबालिकाको अभिभावक राज्य बन्नुपर्छ, त्यसकारण पनि मन्त्रालयले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज लत्ताकपडा वितरण गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मन्त्रालयले अभिभावकको भूमिका निर्वाह गर्न तयार छ । त्यसकारण तपाईंहरू राम्रोसँग पढ्नुहोस् ।चरित्रवान् बन्नुहोस् ।’


