
कृष्णसार अनलाइन । सरकारले मिर्गौला रोगको बिरामीको उपचार निःशुल्क गर्ने भने तापनि पर्याप्त मात्रामा जनशक्ति र डाइलाइसिस मेसिन उपलब्ध गराउन नसक्दा बर्दियाका मिर्गौला रोगका बिरामीले अझै सास्ती भोग्नुपरेको छ ।
सरकारले मिर्गौला रोगका बिरामीको निःशुल्क उपचार गराउने व्यवस्था विभिन्न स्वास्थ्य संस्थामा मिलाएको छ । तर, पछिल्लो समय मिर्गौला रोगको बिरामी बढेसँग डाइलाइसिसका लागि बिरामीले पालो नपाउने समस्या पनि थपिएको छ ।

नि:शुल्क डाइलाइसिसका लागि पालो सहजै नपाइने गरेको बिरामीहरूको गुनासो रहेको छ । सरकारले बिरामीको उपचारका लागि आवश्यक पर्ने पर्याप्त जनशक्ति र स्रोतसाधन व्यवस्थापन गर्न सकेको छैन । सरकारको दोहोरो कार्यशैलीले गर्दा डाइलाइसिस रोगका बिरामी नि:शुल्क डाइलाइसिस गर्न समस्या हुने गरेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक वर्ष ०८१/८२ मा ९७ जनाले, आर्थिक वर्ष ०८०/८१ मा एक सयजनाले, आर्थिक वर्ष ०७९/८० मा ८४ जनाले र आर्थिक वर्ष ०७८/७९ मा ८६ जनाले विभिन्न पालिकाहरूबाट निःशुल्क उपचारका लागि सिफारिस लिएको पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
बर्दिया अस्पताल गुलरियामा ०८१ वैशाख १९ गतेबाट पाँचवटा डाइलाइसिसको मेसिन सञ्चालनमा आएपछि उपचारका लागि मिर्गौला रोगका बिरामी बाहिर जानुपर्ने बाध्यताको केही हदसम्म अन्त्य भएको छ । अस्पतालले चालू आर्थिक वर्ष ०८२/८३ को चार महिनामा ९७८ पटक, आर्थिक वर्ष ०८१/८२ मा दुई हजार १३ पटक र आर्थिक वर्ष ०८०/८१ मा २३१ पटक डाइलाइसिस सेवा उपलब्ध गराएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपाने बताउनु भयो ।
बर्दिया अस्पतालमा मिर्गौला रोगमा बिरामीलाई विगतका दिनमा उपचारका लागि नेपालगन्ज कोहलपुर जानुपर्ने बाध्यता थियो, त्यो केही हदसम्म अन्त्य भएको छ । अझै पनि बर्दियाका धेरै बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् ।
मेडिकल अधिकृत डाक्टर चन्द्रप्रकाश तिमिल्सिनाले अस्पतालले दैनिक पाँचवटा मेसिन सञ्चालन गरेर १० जनालाई डाइलाइसिस सेवा दिइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अस्पतालले अहिले ३४ जनालाई निःशुल्क ३४ जना सेवा दिइरहेकाे छ। बिरामीलाई हप्तामा दुईदेखि तीन पटकसम्म डाइलाइसिस गर्नुपरेको छ ।’
अस्पतालको जनशक्ति अभावले गर्दा अस्पतालले दैनिक दुई सिफ्टमा मात्र डाइलाइसिस सेवा सञ्चालन ल्याउन सकेको छ । तर, त्यसबाहेकका बिरामीहरूले निःशुल्क सेवा पालो पर्खिनुपर्ने बाध्यता रहेको छ । अस्पतालमा थप जनशक्ति व्यवस्थापन गर्न सकेमा दैनिक चार सिफ्ट डाइलाइसिस सेवा सञ्चालन गर्न सकिन्थ्यो ।


