
प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेको कपास विकास समितिको करिब दुई करोड रुपैयाँ बराबरको जग्गा मधुवन नगरपालिकाले बाटो बिस्तारको नाममा अतिक्रमण गरेको छ । मधुवन नगरपालिका, ८ मा सानोश्री बजारमा रहेको कपास विकास समितिको करिब चार कठ्ठा जग्गा, करिब दुई करोड रुपैयाँ बराबरको जग्गा मधुवन नगरपालिकाले बाटो बिस्तारको नाममा अतिक्रमण गरेको हो ।
पालिकाले समितिको जग्गामा बाटो बिस्तार गर्ने भन्दै जग्गा अतिक्रमण गरेको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडबाट कपास विकास समितिले ३ विद्या जग्गा खरिद गरी २०४६ सालमा कार्यालय स्थापना गरेको थियो । द्वन्द्वमा तत्कालीन माओवादीको त्रासले गर्दा कपास विकास समितिको कार्यालय खजुरा बाँके सरेको थियो । त्यसपछि समिति कर्मचारी विहिन भएको थियो । जग्गा र भवनको रेखदेख गर्नका लागि समितिले एकजनालाई दैनिक ज्यालादारीमा राखेको थियो । २०६४ सालमा शसस्त्र प्रहरी बलले कार्यालय स्थापना भएपछि केही समय समितिको जग्गा सुरक्षित रहेको थियो । करिब ४ वर्ष अगाडि शसस्त्र प्रहरी बलले कपास विकास समितिलाई जग्गा बुझाएपछि सो जग्गामा भूमाफियाको नजर पर्दै आएको थियो ।

केही समयमा पहिला नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको ब्यानर राखेर जग्गा कब्जा गर्ने प्रयास समेत भएको थियो । त्यसबेला नेपाल प्रहरी र शसस्त्र प्रहरी बल जग्गा कब्जा गर्न आउने समूहलाई त्यहाँबाट हटाएको थियो । भूमाफिया, सुकुम्बासी देखि पालिका सम्मको नजर समितिको जग्गामा परेको छ । पालिकाले समितिको जग्गालाई अतिक्रमण गरी बाटो बिस्तार गर्न खोजेको छ । समितिको जग्गासँग हुलाकी सडक पहिलादेखि जोडिएको छ ।
पालिकाले समितिको अनुमति बिना जग्गामा रहेको तारबार हटाउने, रूख कटान गर्ने र समितिको जग्गामा डोजर चलाएर बाटो खन्ने काम गर्दै आएको कपास विकास समितिको कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पालिकालाई समितिको जग्गामा बाटो बिस्तार गर्ने भए विधि प्रकृया पुरा गरेर मात्र गर्नु भन्दा पनि पालिकाले जबरजस्ती सडक बिस्तारको काम गर्दै आएका छ । मधुवनमा समितिको नाममा ३ विद्याको जग्गाको पुर्जा छ ।सरकारी सम्पत्ति संरक्षण गर्ने काम पालिकाको काम पनि हो । त्यसकारण पालिकाले जग्गाको संरक्षण गर्नुपर्छ । तर पालिकाबाट समितिको जग्गामा रहेको रूख काट्ने, बाटो खन्ने, माटो थुपार्ने काम भएको छ ।’
बाटो बनाउन लागेको विषयमा औपचारिक रुपमा पालिकाले समितिसँगै समन्वय गरेको छैन् । पालिकाले समितिको जग्गामा रहेको रूख कटान गरेपछि जिल्ल प्रशासन कार्यालय जानकारी गराएर बाटो बिस्तार काम रोकेको कार्यकारी निर्देशक पराजुलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ त्यसबेला प्रमुख जिल्ला अधिकारीले भनेर जग्गामा बाटो बिस्तारको काम रोकिएको थियो । तर अहिले पालिकाबाट एकैपटक होइन तर विभिन्न समयमा जग्गामा बाटो निकाल्ने प्रयास भइरहेको छ ।’
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले समितिको जग्गामा बाटो बिस्तार गर्नका पालिकाले निर्णय गरेर कपास विकास समितिको कार्यालयले र कृषि मन्त्रालय समेत पत्राचार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पहिलाले देखि त्यस बाटो भएर स्थानीयहरु आवतजावत गर्दै आएका थिए । समितिको जग्गामा शसस्त्र प्रहरी बस्दा शान्ति सुरक्षाको लागि तारबार गरेर गर्यो । त्यहीँ भएर केही समय त्यो बाटो रोकिएको थियो । तर अहिले पालिकाले बाटो निर्माणको लागि काम गरेको छ । पालिकाले बाटो बनाउन लागेको विषयमा समितिदेखि मन्त्रालयसम्म सबैलाई जानकारी छ । मन्त्रालय पनि बाटो बनाउने विषयमा सकारात्मक छ ।’ मन्त्रालय सकारात्मक भएपनि अहिले मन्त्रालयले कुनै पत्राचार नगरेको समेत नगरप्रमुख भाटले जानकारी दिए ।
पालिकाले समितिको करिब ३ कठ्ठा जति जग्गा अतिक्रमण गरी बाटो बिस्तार गर्न लागेको छ । पालिकाले अतिक्रमण गरेको जग्गाको बजार मूल्य अहिले करिब दुई करोड बराबर पर्छ ।


