
कृष्णसार अनलाइन । बर्दियाको गुलरियामा निर्वाचन प्रहरीमा छनोट भएर नियुक्ति पत्र लिनका आउने निर्वाचन प्रहरीको भिड लागेको छ। जिल्ला प्रहरी कार्यालयले आवश्यक कागजातसहित बोलाएपछि नियुक्ति पत्र लिन आउने निर्वाचन प्रहरीको भिड लागेको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी हुन बर्दियामा ४ हजार ४ सयजनाले आवेदन दिएका थिए। प्रहरीले म्यादी हुनका लागि शारीरिक परीक्षण, लिखित मौखिक परीक्षा लिएको थियो। जसमध्ये २ हजार २५ जनाको नाम निर्वाचन प्रहरीमा निस्किएको छ।

निर्वाचन प्रहरीका लागि भएको परीक्षामा नाम निस्किएका सम्पूर्ण परीक्षार्थीलाई निर्वाचन प्रहरीको प्रवेश पत्र, नागरिकताको सक्कल, स्थायी लेखा नम्बर, राष्ट्रिय परिचयपत्र, दुईवटा फोटोसहित उपस्थिति हुन भनिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनु भयो ।
छनोट भएका मध्ये २०२५ जना मध्ये १ हजार ८२६ जना नेपाल प्रहरीको मातहतमा रहने भएका छन् भने १९९ जना सशस्त्र प्रहरी बलको मातहतको रहनेछन्।


