
कृष्णसार अनलाइन । बर्दियामा मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रको आसपासको क्षेत्रमा अवैध गतिविधि र वन्यजन्तुको चोरी सिकार हुन नदिन रातमा संयुक्त रूपमा गस्ती गरिएको छ ।
वन्यजन्तुको संरक्षण गर्न बर्दिया राष्ट्रिय निकुञ्ज, निकुञ्जको सुरक्षामा तैनाथ जब्बर जंग गणका नेपाली सेना र चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा आबद्ध युवाहरूले मध्यवर्ती क्षेत्रको डल्ला, पत्थरबोझी तथा सामुदायिक वन क्षेत्रको सोनाहा, अम्बरपुर र खाता करिडोरमा संयुक्त रूपमा गस्ती गरेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष गोविन्द थारूले बताउनु भयो ।

उहाँले भन्नुभयो, , ‘मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासको क्षेत्रमा वन्यजन्तुको चोरी सिकार हुन नदिन वन्यजन्तुको संरक्षण गर्नका संयुक्त रूपमा गस्ती गर्दै आइरहेका छौँ । वनमा कसैले अवैध गतिविधि गरेमा वा शंकास्पद व्यवहार देखाएमा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका सदस्यहरूले निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेको छ । यसरी समुदायले वन्यजन्तुको संरक्षणमा योगदान गर्दै आएको छ ।’
बर्दियामा पाइने बाघ, हात्ती, गैँडा चित्तल, रतुवा, बाह्रसिङे लगायत चराचुरुङ्गी, नदीमा पाइने गोही, घडियाल, सर्पलगायत वन्यजन्तुको संरक्षणमा निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको छ ।


