
प्रकाश पौडेल, गुलरिया । बर्दियामा महिलाहरूको अगुवाईमा बगरमा खरबुजा खेतीमा सुरु गरिएको छ। गुलरिया नगरपालिका– १२, सानोबिक्रीका महिलाहरूको अगुवाईमा बगरमा खरबुजा खेती सुरु गरिएको हो ।
सानोबिक्री गाउँका १२ जना महिलाहरूले घरनजिकको भादा नदीको बगरमा फर्सी र खरबुजा खेती गरेका छन्। पहिलादेखि नै तरकारी खेती गर्दै आएका महिलाहरूले यस भने बगरमा खरबुजा र फर्सी रोपेर बगरखेती सुरु गरेका छन्। दिउँसो २ बजेको चर्को घाममा गुलरिया नगरपालिका- १२, सानोबिक्रीकी रूपा थारूले भादा नदीमा गरेको बगरखेतीमा सिँचाइ गरिरहेको हुनुहुन्थ्यो । पसिनाले निथ्रुक्क भिजेकी थारूले पहिलोपटक बगरमा खरबुजा खेती गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घरनजिक बारीमा पहिलादेखि तरकारी रोप्दै आएको थिए। यसपटक भने बगरमा खरबुजा खेती पनि गरेको छु। पहिलोपटक खरबुजा खेती गरेको हुँदा उत्पादन कस्तो होला भन्ने लागिरहेको छ।’
उहाँले तरकारी खेती गरेको अनुभव भए पनि खरबुजाको खेती गरेको अनुभव नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘खरबुजा खेती गरेकी छु, खरबुजा कति फल्छ थाहा छैन।’ दिउँसोको खाली समय त्यसै बस्नुभन्दा खाली भएको समयमा बगरमा खरबुजा रोपेर थोरै भए पनि आम्दानी हुने भएको हुँदा खरबुजा खेती गरिएको सानो बिक्री गाउँकी करुणा चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ गाउँका १२ जना दिदीबहिनी मिलेर खरबुजा लगाएको छौँ। खरबुजाहरू पनि फल्न थालेका छन्। तर, खरबुजामा कीरा लागेर हैरान बनाएको छ। यसको रोकथाम हुने सके खरबुजा राम्रो उत्पादन हुने देखिन्छ।’
जब्दीपुर आसपासको क्षेत्रमा खरबुजा लगाएको देख्दा खरबुजा खेतीबाट राम्रो आम्दानी हुने देखिएको भएको खरबुजा खेती गरिएको सानोबिक्री गाउँकी मीनाकुमारी चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बगरमा खरबुजा खेती गर्दा नदीको दुई किसानमा गर्न सकिन्छ। वर्षायाममा बाहेक नदीको खाली हुन्छ। खाली रहेको जग्गामा खरबुजा खेती हुने भएको हुँदा कम जग्गा भएका व्यक्तिहरूले पनि गर्न सक्ने भएको हुँदा बगर खेती प्रभावकारी छ। तर, बगर खेती गर्दा सिँचाइको समस्या भने रहने गरेको छ।’
पछिल्लो समय खरबुजा खेतीको माग बजारमा बढ्दै गइरहेको छ। व्यवसायिक रूपमा खरबुजा खेती हुन थालेपछी भारतबाट खरबुजाको आयात रोकिएको छ। बर्दियामा करिब ५० विद्या जग्गामा बगर खेती हुने गरेको छ। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयको अनुसार गुलरिया, बारबर्दिया, ठाकुरबाबा र राजापुर नगरपालिकामा बगरमा खरबुजा, फर्सी र लौकालगायतका तरकारी खेती गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका कृषि प्राविधिक अधिकृत एवं सूचना अधिकारी फिर्तमान चौधरीले खेर गइरहेको बगरमा व्यवस्थित रूपमा प्रयोग गर्न सकेमा बगर खेतीबाट राम्रो आम्दानी गर्न सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ बगरखेतीको बिस्तार गर्नका किसानलाई तालिम तथा सिँचाइ आवश्यक ज्ञानसीप र अन्य सामग्री वितरण गरेको छ। बगरमा उत्पादन हुने लहरे बालीमा कुनै समस्या देखिएमा प्राविधिक लिनुपर्ने हुन्छ।’
गुलरिया नगरपालिका वडा १२ को वडा सदस्य भावना चौधरीले महिलाको अगुवाइ गरेर सुरु भएको बगरखेतीको कामको प्रशंसा गरिन्। उनले भनिन् , ‘महिलाहरूले बगरमा लगाएको खरबुजा खेतीले गर्दा बगरको समेत सदुपयोग भएको छ भने बगरमा लगाएको खरबुजा बेचेर महिला दिदीबहिनीलाई आत्मनिर्भर बन्न मदत मिल्नेछ। सानोबिक्री गाउँमा महिलाहरू अगुवाइ भएको बगरखेती अन्य स्थानमा महिलाहरूको लागिसमेत प्रेरणाको स्रोत बन्न सक्छ।’


