
प्रकाश पौडेल, गुलरिया । बर्दियाको अतिक्रमित वन क्षेत्रमा बनाइएका घरटहरा र खेती गरेको जग्गा खाली गर्न डिभिजन वन कार्यालयले १५ दिने सूचना जारी गरेको छ ।
डिभिजन वन क्षेत्रभित्र पर्ने कोठियाघाट, माचडचोक, संगमबस्ती, खुरखुरेफाँटा, रामबस्ती, अमर महिला सामुदायिक वन लगायत जिल्लाभर रहेका सामुदायिक वन क्षेत्रमा बनाइएको घरटहरा, खेती गरेको ठाउँ खाली गर्न सूचना जारी गरिएको डिभिजन वनका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले जानकारी दिनुभयो ।

सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घरटहरा र खेती गरेको क्षेत्र खाली नगरे अतिक्रमित जग्गा खाली गराउँदा लागेको खर्च र वन ऐन, २०७६ ले तोकेअनुसार सजाय हुने कार्यालयले जनाएको छ ।


