
प्रकाश पौडेल, गुलरिया । बर्दियामा क्षयरोग पत्ता लगाउन गरिएको खोजपड्ताल शिविरमा ५२ जना क्षयरोगका बिरामी फेला परेको छन्। ए आई एक्सरे विधिबाट गरिएको खोजपड्ताल शिविरमा ५२ जना क्षयरोगका बिरामी फेला परेका हुन्।
क्षयरोगको बिरामी पत्ता लगाउन गुलरिया, राजापुर र बारबर्दिया नगरपालिकामा खोजपड्ताल शिविर गरिएको थियो। शिविरमा एआई एक्सरे विधिद्वारा गरिएको खोजपड्ताल शिविरमा चार हजार ५८७ जनाको जाँच गरिएको थियो । जसमध्ये एक हजार १६३ जना शंकास्पद व्यक्ति फेला परेका थिए।

शंकास्पद व्यक्तिको जिन एक्सपर्ट विधिबाट खकार जाँच गर्दा ५२ जना नयाँ क्षयरोगका बिरामी फेला परेको विराट नेपाल मेडिकल ट्रस्टका जिल्ला परियोजना संयोजक कर्णध्वज चन्दले बताउनु भयो । उहाँले भन्नुभयो, ‘क्षयरोग देखिएको बिरामीलाई स्वास्थ्य उपचारको दायरामा ल्याएर नजिकको स्वास्थ्य केन्द्रबाट उपचार गरिनेछ।’


