
प्रकाश पौडेल, गुलरिया बर्दियाको राजापुरमा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार झालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पाण्डेले गालीगलौज तथा हातपात गरेको विरोधमा विद्यालय बन्द गरिएको छ ।
विद्यालयका शिक्षक तथा कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भदौ ४ गते साँझ करिब ८ बजे राजापुरमा रहेको झब्बु पान पसल अगाडि सार्वजनिक स्थानमा प्रधानाध्यापक झालाई अध्यक्ष पाण्डेले गालीगलौज तथा हातपात गरेको उल्लेख छ ।

घटनास्थलमा रहेका व्यक्तिहरूले प्रधानाध्यापक झालाई सम्झाइबुझाइ घर पठाएको र त्यसपछि पनि अध्यक्ष पाण्डे प्रधानाध्यापक झाको डेरामा पुगेर गालीगलौज गरेको शिक्षक तथा कर्मचारीहरूको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट भएको अभद्र व्यवहारप्रति घोर आपत्ति जनाउँदै शिक्षक तथा कर्मचारीहरूले घटनाको भर्त्सना गरेका छन् । प्रधानाध्यापक झालाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गर्दै शिक्षक तथा कर्मचारीहरूले ५ भदौ शुक्रबार विद्यालय बन्द गरेका थिए ।


