
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गेरुवा गाउँपालिकामा एक साताको अवधिमा दुईवटा बाघ नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिका–४ गोलाबाट सोमबार दिउँसो एउटा बाघ नियन्त्रणमा लिइएको हो ।
यसअघि गत मंगलबार सोही वडाको शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट अर्को बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताउनु भयो ।

‘ बाघले घरपालुवा जनावर मार्न थालेपछि बाघ नियन्त्रणको प्रयास थालिएको थियो । निरन्तर प्रयासपछि अन्ततः बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘बाघ नियन्त्रणका लागि बाघको गतिविधि माथि निरन्तर निगरानी गरिएको थियो ।’
नियन्त्रण अभियानमा बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीयवासीबीचको समन्वय तथा सहयोग महत्त्वपूर्ण रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।





