
कृष्णसार अनलाइन । रसुवामा आएको बाढीका कारण प्रभावित ८९६ जनाको नेपाली सेनाले उद्धार गरेको छ। सेनाले ६९६ जनाको हेलिकप्टरमार्फत तथा दुई सय जनाको पैदल घटनास्थलमा पुगेर उद्धार गरेको हो।
नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेंसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट एक सय एक जना विदेशी नागरिकसहित ६९६ जनाको हवाई उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य सेवासमेत प्रदान गरिरहेको जनाएको छ। वीरेन्द्र अस्पतालबाट चिकित्सक सहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरिएको आपतकालीन उपचार केन्द्रमार्फत उपचार सेवा दिइरहेको सेनाले जनाएको छ।

खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोन तथा सैनिक कुकुरसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ। रसुवा तथा नुवाकोटमा चार हजारभन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म एक हजारभन्दा बढी नेपाली सेनाको फौज परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।


