
प्रकाश पौडेल, गुलरिया । बर्दियामा रहेका संस्थागत विद्यालय तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ। पछिल्ला तीन वर्षको एसईईको नतिजाको तथ्याङ्क हेर्दा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको हो ।
सामुदायिक विद्यालयको एसईई नतिजामा सुधार देखिएको भएयता पनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको हो । पछिल्ला तीन वर्षको एसईई नतिजाको तथ्याङ्कले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै भए पनि उत्तीर्ण सङ्ख्या भने संस्थागत विद्यालयको तुलनामा निकै कम रहेको देखाएको हो।

शिक्षामा सुधारका लागि पालिकाले आन्तरिक स्रोतबाट पछिल्ला तीन आर्थिक वर्षमा मात्रै एक अर्ब आठ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा ३७ करोड ३३ लाख ६४ हजार ७८४ रुपैयाँ, २०८१/०८२ मा ३५ करोड ८३ लाख ९२ हजार १८२ रुपैयाँ र २०८०/०८१ मा ३४ करोड ८१ लाख ३२ हजार ४७० रुपैयाँ शिक्षाका लागि बजेट विनियोजन गरेका थिए ।
शिक्षामा वर्षेनी करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसईई नतिजामा अपेक्षित सुधार देखिएको छैन। २०८२ को एसईईमा सामुदायिक विद्यालयबाट ४ हजार ५१४ विद्यार्थी परीक्षामा सहभागी भएकामा २ हजार ६३२ जना उत्तीर्ण भएका थिए। भने संस्थागत विद्यालयबाट ७४३ विद्यार्थीले परीक्षा दिएकामा ६९३ जना उत्तीर्ण भएका थिए । त्यसैगरी २०८१ को एसईईमा सामुदायिक विद्यालयका ४ हजार ७६५ विद्यार्थी मध्ये २ हजार ४८० जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयबाट ६६० विद्यार्थीले परीक्षा दिएकामा ६०३ जना उत्तीर्ण भएका थिए । भने २०८० को एसईईमा सामुदायिक विद्यालयबाट ५ हजार ७७० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९९० जना मात्रै उत्तीर्ण भएका थिए। भने संस्थागत विद्यालयबाट ६८१ विद्यार्थीले परीक्षा दिएकामा ५३१ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ ।
शिक्षामा लगानी बढाउँदैमा मात्र शैक्षिक उपलब्धि सुधार नहुने एसईईको नतिजाले देखाएको छ। शिक्षामा कति बजेट विनियोजन भयो भन्ने भन्दा पनि बजेट कहाँ र कसरी खर्च भयो, त्यसबाट विद्यार्थीको सिकाइमा कति सुधार आयो र त्यसको परिणाम के भयो भन्ने विषय महत्वपूर्ण देखिन्छ। शिक्षामा सुधारका लागि सरकारसँगै अन्य साझेदार संस्थाले पनि काम गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख देवमणि चौधरीले बताउनु भयो ।विगतको तुलनामा सामुदायिक विद्यालयको भौतिक संरचना र आन्तरिक व्यवस्थापनमा सुधार आए पनि एसईईको नतिजामा अपेक्षाकृत सुधार हुन नसकेको उहाँको भनाई रहेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने प्रमुख आधार परीक्षापछि प्राप्त हुने नतिजा भएकाले सामुदायिक विद्यालयको एसईई नतिजामा थप सुधार आवश्यक रहेको चौधरीले उल्लेख गर्नुभयो । विगतका वर्षको तुलनामा एसईईको नतिजामा केही सुधार देखिए पनि अपेक्षित उपलब्धि हासिल गर्न अझै धेरै काम गर्नुपर्ने जानकारी दिनुभयो ।
‘ एसईईको नतिजा सुधारका लागि विद्यार्थीमा नियमित अध्ययन गर्नुपर्छ भन्ने भावना विकास गर्नुका साथै विद्यार्थीलाई अनुशासित बनाउन आवश्यक रहेको छ । त्यसका विद्यार्थीलाई पठनपाठन प्रति थप जिम्मेवार बनाउनु पर्छ ’, उहाँले भन्नुभयो, ‘विद्यालयलाई प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन पनि स्थानीय तहले लगानी र सहजीकरण गर्न आवश्यक छ । त्यसका साथै विद्यालयको पठनपाठन सुधारमा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ । अभिभावकले आफ्ना छोराछोरी नियमित विद्यालय गएका छन् कि छैनन्, उनीहरूको पढाइको अवस्था कस्तो छ भन्ने विषयमा चासो राख्नुपर्छ ।’
बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालयका प्रधानाध्यपक मतिराम शर्माले विद्यालयको पठनपाठन सुधार गर्न विद्यार्थी, अभिभावक, विद्यालय र स्थानीय तहले मिलेर काम गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ सामुदायिक विद्यालयको पठनपाठन सुधार गर्नका लागि अभिभावकले आफ्नो छोराछोरी विद्यालयको आए नआएको सोधखोज गर्ने, छोराछोरीको आनीबानी गर्ने ख्याल गर्ने आवश्यक रहेको छ । विद्यार्थीले पनि अध्ययनमा रुचि देखाउने र मेहनत गर्ने, विद्यालय र शिक्षक पनि जिम्मेवार भए विद्यालयको पठनपाठनमा सुधार हुन्छ ।’
शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेटको प्रभावकारी मूल्याङ्कनसँग विद्यालयको शैक्षिक अवस्था, शिक्षकको कार्यसम्पादन, विद्यार्थीको नियमित उपस्थिति, सिकाइ उपलब्धि र विषयगत नतिजाको नियमित अनुगमन आवश्यक देखिन्छ। सामुदायिक विद्यालयको कमजोर नतिजालाई विद्यार्थी वा शिक्षकको कमजोरीमा मात्रै सीमित गरेर हेर्नु भन्दा विद्यालय व्यवस्थापन, शिक्षण सिकाइको अवस्था, स्रोतको उपयोग, अभिभावकको सहभागिता र स्थानीय तहको शैक्षिक व्यवस्थापन लगायत समग्र पक्षबाट समीक्षा गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीको प्रतिफल मापन गर्दै कमजोर नतिजा भएका विद्यालय पहिचान र विषयगत समस्या विश्लेषण गरी सुधारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।


