bardiyahospital

शिक्षामा लगानी बढ्दै तर सामुदायिक विद्यालयको नतिजा कमजोर

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियाको राजापुर नगरपालिकामा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या बढी भएपनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको हो ।

पालिकाभित्र रहेका संस्थागत विद्यालयको एसईईको नतिजा राम्रो देखिएको भएता पनि सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ ।पालिकाले शिक्षाको सुधारका लागि आन्तरिक स्रोतबाट पछिल्ला तीन आर्थिक वर्षमा २१ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा ७ करोड रुपैयाँ, २०८१/०८२ मा ७ करोड १५ लाख रुपैयाँ र २०८०/०८१ मा ७ करोड ५० लाख रुपैयाँ शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो।

cld

शिक्षामा वर्षेनी करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसईई नतिजामा अपेक्षित सुधार हुन नसकेको देखिन्छ। २०८२ को एसईईमा राजापुर नगरपालिकाका सामुदायिक विद्यालयबाट ३६१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ९९ जना उत्तीर्ण भएका थिए। यसअनुसार सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत २७.४२ प्रतिशत रहेको छ। संस्थागत विद्यालयबाट ७७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७१ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत ९२.२१ प्रतिशत उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ ।

त्यसैगरी, २०८१ को एसईईमा सामुदायिक विद्यालयका ४७९ विद्यार्थीमध्ये ३०० जना उत्तीर्ण भएका थिए। सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ६२.६३ प्रतिशत थियो। संस्थागत विद्यालयका ७६ विद्यार्थीमध्ये ७२ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत ९४.७४ प्रतिशत रहेको थियो। भने २०८० को एसईईमा सामुदायिक विद्यालयबाट ६५८ विद्यार्थी परीक्षामा सहभागी भएकामा ६९ जना मात्रै उत्तीर्ण भएका थिए। उक्त वर्ष सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत १०.४९ प्रतिशत थियो। संस्थागत विद्यालयबाट ८३ विद्यार्थीले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका थिए। संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत ८७.९५ प्रतिशत उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ ।

शिक्षामा लगानी बढाउँदैमा मात्र शैक्षिक उपलब्धि सुधार नहुने एसईईको नतिजाले देखाएको छ। शिक्षामा कति बजेट विनियोजन भयो भन्ने भन्दा पनि बजेट कहाँ र कसरी खर्च भयो, त्यसबाट विद्यार्थीको सिकाइमा कति सुधार आयो र त्यसको परिणाम के भयो भन्ने विषय महत्वपूर्ण देखिन्छ। शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेटको प्रभावकारी मूल्याङ्कनसँग विद्यालयको शैक्षिक अवस्था, शिक्षकको कार्यसम्पादन, विद्यार्थीको नियमित उपस्थिति, सिकाइ उपलब्धि र विषयगत नतिजाको नियमित अनुगमन आवश्यक देखिन्छ।

सामुदायिक विद्यालयको कमजोर नतिजालाई विद्यार्थी वा शिक्षकको कमजोरीमा मात्रै सीमित गरेर हेर्नु भन्दा विद्यालय व्यवस्थापन, शिक्षण सिकाइको अवस्था, स्रोतको उपयोग, अभिभावकको सहभागिता र स्थानीय तहको शैक्षिक व्यवस्थापन लगायत समग्र पक्षबाट समीक्षा गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको लगानीको प्रतिफल मापन गर्दै कमजोर नतिजा भएका विद्यालय पहिचान र विषयगत समस्या विश्लेषण गरी सुधारका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.