
कृष्णसार अनलाइन । पानी पर्ने क्रम सुरु भएसँगै देशभरका अधिकांश निकुञ्जले जंगल सफारीमा कडाइ गरे पनि बर्दिया राष्ट्रिय निकुञ्जले भने पर्यटकका लागि जङ्गल सफारी खुल्ला राखेको छ।
सफारी खुल्ला रहेपछि बर्खाको समयमा पनि स्वदेशी तथा विदेशी पर्यटक निकुञ्जमा घुम्ने गरेका छन् ।बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले चालू आर्थिक वर्ष २०८३/८४ को असोज ५ गतेसम्म ९२७ जना नेपाली, ६४ जना सार्क राष्ट्रका र ९८ जना विदेशी पर्यटक निकुञ्जमा आएका जानकारी दिनुभयो

। बर्खाको मौसम भए पनि निकुञ्जले जङ्गल सफारी खुला राखेपछि पर्यटकको आगमन भइरहेको रोयल टाइगर कटेजका सञ्चालक राम शाहीले बताउनु भयो । उहाँले पछिल्लो समय विदेशी पर्यटकसँगै नेपाली पर्यटक पनि निकुञ्ज घुम्न आउने क्रम बढिरहेको जानकारी दिनुभयो ‘पछिल्लो समय विदेशी मात्र नभएर निकुञ्ज घुम्न आउने नेपाली पर्यटकको सङ्ख्या पनि बढ्दै गइरहेको छ,’ शाहीले भन्नुभयो, ‘निकुञ्जमा पाइने जैविक विविधता, जङ्गल सफारी, जङ्गल वाक, राफ्टिङ लगायतका साहसिक पर्यटकीय गतिविधिको प्रचारप्रसार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ।’
पर्यापर्यटनका दृष्टिले निकुञ्ज महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। निकुञ्जमा बाघ, गैँडा, हात्ती, अजिङ्गर, चित्तल, मृग, बाह्रसिँगे लगायतका वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा निकुञ्ज पर्न थालेको छ । जङ्गल सफारीसँगै जङ्गल वाक र कर्णाली नदीमा राफ्टिङ लगायतका गतिविधिले बर्दियाको आकर्षण बढाएको छ । बर्खाको समयमा पनि सफारी सञ्चालन भइरहेको छ ।


