bardiyahospital

छोराको बढ्दो चाहनाले छोरीको भ्रुण हत्या

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा छोराको बढ्दो चाहनाले छोरीको भ्रुण हत्या हुने गरिएको देखिएको छ । स्वास्थ्य कार्यालय बर्दियाको सात आर्थिक वर्षको तथ्याङ्कमा हेर्दा छोराको बढ्दो चाहनाले छोरीको भ्रुण हत्या हुने गरिएको देखिएको हो ।

स्वास्थ्य कार्यालयको अनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या ७ हजार ४८९ थियो। सोही वर्ष १ हजार ८७७ छोरा र १ हजार ७७१ छोरीको जन्म भएको तथ्याङ्क छ। यस अवधिमा १ हजार ६५१ जनाले गर्भपतन सेवा लिएका थिए। त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा पहिलोपटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या ७ हजार ११७ थियो। सो वर्ष १ हजार ८५८ छोरा र १ हजार ६२३ छोरी जन्मिएका थिए भने १ हजार ७३५ जनाले गर्भपतन गराएका थिए। भने आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २८२ महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए। सो वर्ष २ हजार १५९ छोरा र १ हजार ९४३ छोरी जन्मिएका थिए। गर्भपतन गराउनेको सङ्ख्या १ हजार ६५३ थियो।

cld

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ८ हजार ४०२ महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए। सो वर्ष २ हजार ४७७ छोरा र २ हजार २४८ छोरी जन्मिएका थिए भने १ हजार ४२६ जनाले गर्भपतन गराएका थिए। त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ७ हजार ८७८ महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए। सो वर्ष २ हजार ३७२ छोरा र २ हजार २२९ छोरी जन्मिएका थिए। गर्भपतन गराउनेको सङ्ख्या १ हजार १२२ थियो।

भने आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ९५७ महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए। सो वर्ष २ हजार ८६८ छोरा र २ हजार ६३२ छोरी जन्मिएका थिए। गर्भपतन गराउनेको सङ्ख्या १ हजार १५७ थियो।स्वास्थ्य संस्थामा गएर आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ८८१ महिलाले पहिलोपटक गर्भ जाँच गराएका थिए। सो वर्ष २ हजार ८७३ छोरा र २ हजार ५५३ छोरी जन्मिएका थिए। १ हजार १०१ जनाले गर्भपतन गराएको  स्वास्थ्य कार्यालय बर्दियाकी पब्लिक हेल्थ वरिष्ठ अधिकृत  पदमा कुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

 राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा पनि बाल उमेर समूहमा पुरुषको सङ्ख्या महिलाको भन्दा बढी देखिन्छ। जन्मदेखि १४ वर्षसम्मको उमेर समूहमा ६२ हजार ३१ पुरुष र ५८ हजार १७५ महिला रहेको तथ्याङ्क छ। तर १५ वर्षभन्दा माथिको उमेर समूहमा भने महिलाको सङ्ख्या पुरुषको भन्दा बढी देखिन्छ। कानुनले तोकेका अवस्थामा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित गरेको छ। तर गर्भपतन गराउने उद्देश्यले भ्रूणको लिङ्ग पहिचान गर्ने वा लिङ्ग पहिचानपछि गर्भपतन गर्ने कार्य कानुनले निषेध गरेको छ। मुलुकी अपराध संहिता, २०७४ मा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन तथा लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउन नहुने व्यवस्था छ। यस्तो कसुर गरेरमा कानुन बमोजिम सजाय हुन्छ ।

अधिवक्ता सर्वेन्द्र देव पाठकले मुलुकी अपराध संहिता, २०७४ मा सुरक्षित गर्भपतनको कानुनी व्यवस्था र भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने कार्यलाई कानुनले फरक रूपमा हेरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ लिङ्ग पहिचान गर्ने वा गराउने तथा लिङ्ग पहिचानपछि गर्भपतन गर्ने वा गराउने कार्य कानुनबमोजिम दण्डनीय हुन्छ ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले पनि कानुनले तोकेका अवस्थामा सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित गरेको छ। सामान्य अवस्थामा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्म गर्भपतन गर्न सकिने व्यवस्था छ। बलात्कार वा हाडनाता करणीबाट रहेको गर्भ, आमाको ज्यान वा स्वास्थ्यमा गम्भीर खतरा तथा भ्रूणमा गम्भीर समस्या देखिएको लगायत कानुनले तोकेका अवस्थामा थप अवधिमा पनि गर्भपतन गर्न सकिने व्यवस्था रहेको अधिवक्ता पाठकले जानकारी दिनुभयो ।

बर्दियाका स्थानीय तहबाट प्राप्त जन्मदर्ताको तथ्याङ्कमा पनि छोरीको तुलनामा छोराको सङ्ख्या बढी देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा ४ हजार ५८९ छोरा र ४ हजार ११२ छोरीको जन्मदर्ता भएको छ। आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ३६१ छोरा र ३ हजार ९४७ छोरी तथा आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ९६८ छोरा र ४ हजार ४१८ छोरीको जन्मदर्ता भएको छ।त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा ६ हजार ४२३ छोरा र ६ हजार ७६ छोरी, आर्थिक वर्ष २०७८/७९ मा ६ हजार २० छोरा र ५ हजार ८०२ छोरी, आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७२६ छोरा र ५ हजार २६१ छोरी तथा आर्थिक वर्ष २०७६/७७ मा ३ हजार ६६५ छोरा र ३ हजार ४१९ छोरीको जन्मदर्ता भएको स्थानीय तहको तथ्याङ्क छ। जन्मदर्ताको तथ्याङ्कमा पनि यस्तै लैङ्गिक अन्तर देखिन्छ।

 बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान रोक्न  प्रभावकारी रुपमा सचेतना मूलक अभियान सञ्चालनको आवश्यक रहेको बताउनु भयो । उहाँले भिडियो एक्स–रे गर्ने स्थान तथा रिपोर्टमा नै ‘यहाँ गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरिँदैन। भ्रूणको लिङ्ग पहिचान गर्नु कानुनी रूपमा अपराध हो’ भन्ने सूचना राख्दा सेवाग्राहीलाई कानुनी व्यवस्थाबारे जानकारी दिन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढ्दै गए भविष्यमा विवाहका लागि केटी नपाउने समस्या उत्पन्न हुन सक्छ।’

 छोरीको जन्मलाई प्रोत्साहन गर्न बर्दियाका तीन स्थानीय तहले ‘छोरी बचाउ’ कार्यक्रम सञ्चालन गरिरहेका छन्।  बाँसगढी नगरपालिकाले ‘एक छोरी, एक खाता’ अभियान सञ्चालन गरेको छ। गेरुवा र बढैयाताल गाउँपालिकाले पनि छोरीको शिक्षा, स्वास्थ्य र भविष्यका लागि आर्थिक आधार तयार गर्ने उद्देश्यले छोरी बचाउ कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर यस्ता कार्यक्रम सञ्चालन भइरहँदा जन्मदर्ताको तथ्याङ्कमा समेत छोराको सङ्ख्या बढी देखिनुले आर्थिक प्रोत्साहनसँगै छोरी प्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउने कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ।

नेपालमा अल्ट्रासाउन्डको प्रयोग गरी गर्भ जाँच हुन थालेपछि गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्न सकिने अवस्था बनेको छ। यस्तो जाँचको पहुँच बढेसँगै छोरीको जन्मदर घट्दै गएको देखिएको छ। चिकित्सकहरूका अनुसार सामान्यतया गर्भावस्थाको १४ देखि १८ हप्ताको अवधिमा भ्रूणको लिङ्ग पहिचान गर्न सकिन्छ।

यद्यपि, गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी सोही आधारमा गर्भपतन गराउनु कानुनले निषेध गरेको छ।कानुनी रूपमा भ्रूणको लिङ्ग पहिचान निषेध भए पनि यस्तो कार्य लुकिछिपी हुने गरेको छ। तर यस विषयमा राज्यका सम्बन्धित निकायको प्रभावकारी निगरानी कमजोर देखिन्छ। भ्रूणको लिङ्ग पहिचान तथा लिङ्गका आधारमा हुने गर्भपतन रोक्न सम्बन्धित निकाय सक्रिय हुन आवश्यक देखिन्छ। 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.