bardiyahospital

चन्द्रबहादुरको दुःख : चुहिने छानो र छोराको उपचारको चिन्ता

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बुढी कुलोको किनारमा खरको जीर्ण छानो र भित्ताले बनेको एउटा सानो घर छ। घरमा न झ्याल छ, न ढोका। बर्खाको पानी रोक्न सक्ने अवस्थामा समेत त्यो घर छैन। यही घरमा गेरुवा गाउँपालिका, ४  गिद्दरपुरका ५२ वर्षीय भूमिहीन दलित चन्द्रबहादुर दमाइ परिवार सहित बस्दै आउनु भएको छ।

आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्न र छानो फेर्न नसकेको चन्द्रबहादुर बताउनुहुन्छ। पानी पर्दा घरभित्रै पानी चुहिए पनि यही घरमा बस्नुको विकल्प उहाँसँग छैन। ‘साँझ बिहान के खाने, कहाँबाट ल्याउने भन्ने चिन्ता छ। यस्तोमा घरको मर्मत वा पुनर्निर्माण गर्ने कुरा सोच्न पनि सकेको छैन। सोच्नै नसकेको काम कसरी गर्नु ? मेरो लागि सुरक्षित आवास धेरै टाढाको सपना हो,” उहाँले भन्नुभयो।

cld

वर्षौंदेखि गरिबी र अभावसँग जुध्दै आउनु भएका चन्द्रबहादुरका लागि परिवारको जीविकोपार्जन नै ठूलो चुनौती छ। त्यसमाथि बोलाइ र सुनाई सम्बन्धी अपाङ्गता भएकी श्रीमती अमृता दमाईको हेरचाहको जिम्मेवारी पनि उहाँकै काँधमा छ। करिब सात महिना यता चन्द्रबहादुरको  परिवारमा अर्को चिन्ता थपिएको छ। १८ वर्षीय छोरा रोशन परियारको व्यवहारमा अचानक असामान्य परिवर्तन देखिएपछि चन्द्रबहादुर थप चिन्तित हुनुहुन्छ।

‘कसैले ठूलो स्वरले बोल्दा रोशन अत्यधिक डराउँछ। घर वा बाटोमा महिला देख्दा तर्सिएर भाग्ने गर्छ। प्रायः एक्लै कोठामा बस्छ। दिनभरि एकोहोरो बोलिरहन्छ,’  चन्द्रबहादुरले भन्नुभयो, ‘छोराको व्यवहार र मानसिक अवस्थामा आएको परिवर्तनले मलाई झन् चिन्ता थपेको छ। छोरालाई उपचारका लागि अस्पताल लैजान सक्ने आर्थिक हैसियत मेरो छैन ।’ 

रोशनको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म स्वास्थ्य परीक्षण हुन छैन। त्यसैले उहाँको व्यवहारमा आएको परिवर्तन मानसिक स्वास्थ्यसँग सम्बन्धित हो वा अन्य कुनै स्वास्थ्य समस्याका कारण हो भन्ने यकिन भएको छैन। तर रोशनको तत्काल स्वास्थ्य परीक्षण र आवश्यक उपचारको आवश्यकता छ। चन्द्रबहादुरलाई छोरालाई राम्रो डाक्टरलाई देखाउन पाए उपचार सम्भव हुन्छ भन्ने लागेको छ। तर आर्थिक अभावले उहाँको त्यो चाहना पूरा हुन छैन। ‘नजिकको अस्पतालमा छोरा औषधिले ठीक हुँदैन, ठूलो डाक्टरलाई देखाउनुपर्छ भन्छन्। यहाँ गाउँमा ठूला डाक्टर छैनन्। टाढा लैजान मसँग पैसा छैन, ’ उहाँले भन्नुभयो।

आफ्नो व्यथा सुनाउँदा चन्द्रबहादुरका आँखामा आँसु  भरिन्छ। त्यो आँसुमा छोराको उपचार गराउन नसकेको पीडा मात्रै थिएन, गरिबीले वर्षौंदेखि थिचेको जीवनको असहायपन पनि झल्किन्छ । चन्द्रबहादुर छोरालाई अस्पताल लैजान चाहनुहुन्छ। उपचार गराएर छोरा निको भएको हेर्न चाहनुहुन्छ। तर अस्पतालसम्म लैजान लाग्ने खर्च जुटाउन नसक्दा उहाँ निरीह बन्नुभएको छ। आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनु परेको छ ।

चन्द्रबहादुरको समस्या निजी पीडामा विषय मात्र होइन । यो गरिब, भूमिहीन, अपाङ्गता भएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म राज्यका आधारभूत सेवा सुविधा कति पुगेका छन् भन्ने प्रश्नसँग जोडिएको छ।नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक दिएको छ। त्यसैगरी प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवस्था गरेको छ। सरकारले विपन्न तथा लक्षित वर्गका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र विभिन्न सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर चन्द्रबहादुरको  परिवार त्यो सेवाको पहुँचमा सकेका छैनन् ।

कागजमा लेखिएको मौलिक हकको अनुभूति व्यवहारमा कहिले गर्ने ? आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाबाट चन्द्रबहादुरको परिवारले कहिले मुक्ति पाउने? सुरक्षित आवासको अधिकार कहिले व्यवहारमा कहिले लागू हुने ? यो प्रश्नको जवाफ राज्यका सम्बन्धित निकायसँग खोजिनुपर्ने देखिन्छ।

चन्द्रबहादुरको सपना ठूलो छैन। छोराले समयमा उचित उपचार पाओस्। खरको छानोबाट बर्खाको पानी घरभित्र नपसोस्। घरमा बिजुली बत्ती बलोस्। बिहान बेलुका परिवारले पेटभरि खान पाओस्। शरीर ढाक्न एकसरो राम्रो लुगा होस्। उहाँको सपना यति नै हो। तर गरिबीको लामो यात्रामा यी सामान्य आवश्यकता पनि उहाँका लागि ठूलो सपना बनेका छन्। 

चन्द्रबहादुरलाई छोरा कहिले निको होला भन्ने चिन्ता छ। उपचारको खर्च कसरी जुटाउने भन्ने चिन्ता छ। बर्खामा घरभित्र पानी पस्ने डर छ। यी चिन्ताका बीच उहाँले राज्यको उपस्थिति अनुभूति गर्न चाहेको बताउनु भयो । ‘सरकारले हामीलाई पनि हेरिदिए हुन्थ्यो। छोराको उपचारका लागि सहयोग गरिदिए हुन्थ्यो,’  उहाँले भन्नुभयो ।

बुढी कुलोको किनारमा रात गहिरिँदै जान्छ। चुहिने छानोमुनि चन्द्रबहादुर निदाउने प्रयास गर्नुहुन्छ । तर चन्द्रबहादुरलाई निद्रा लाग्दैन। उहाँको आँखा अघि एउटै प्रश्न घुमिरहन्छ, छोरालाई अस्पताल कसरी लैजाऊँ ?n तर उहाँ अझै आशावादी हुनुहुन्छ। कुनै दिन त्यो छानोबाट पानी पस्ने छैन। कुनै दिन रोशनले उचित उपचार पाउनेछ। र गरिबीले थिचिएको चन्द्रबहादुरले परिवारले देशमा राज्य भएको अनुभूति गर्न पाउने छन् । यस्तो सोच्दा सोच्दै  चन्द्रबहादुरका कयौं रातहरूअनिँदै बितिरहेका छन्। आफ्नै देशमा नागरिक हुनुको अनुभूति गर्न पाउने आशामा उहाँ आँसु पुछ्दै बसिरहनु भएको छ। आर्थिक अभावकै कारण आधारभूत स्वास्थ्य सेवा र सुरक्षित आवासबाट वञ्चित हुनुपर्ने अवस्थाबाट चन्द्रबहादुरको परिवारलाई कहिले मुक्त गर्ने भन्ने प्रश्न अब राज्यका तीनै तहमा तेर्सिएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.