
प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिकामा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ। सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या बढी भएपनि संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको हो ।
पालिकाभित्र रहेका संस्थागत विद्यालयको एसईईको नतिजा राम्रो देखिएको भएयता पनि सामुदायिक विद्यालयको एसईई नतिजा कमजोर देखिएको छ । पालिकाले शिक्षाको सुधारका लागि आन्तरिक स्रोतबाट पछिल्ला तीन आर्थिक वर्षमा ११ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाएको थियो । आर्थिक वर्ष २०८२/०८३ मा चार करोड २५ लाख रुपैयाँ, २०८१/०८२ मा ३ करोड ५० लाख रुपैयाँ र २०८०/०८१ मा ३ करोड ७५ लाख रुपैयाँ शिक्षाका लागि बजेट विनियोजन गरिएको थियो। शिक्षामा वर्षेनी करोडौँ रुपैयाँ लगानी भइरहे पनि सामुदायिक विद्यालयको एसईई नतिजामा अपेक्षित सुधार हुन नसकेको देखिन्छ ।

२०८२ को एसईईमा पालिकाको सामुदायिक विद्यालयबाट ६ सय ५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ४ सय २४ जना उत्तीर्ण भएका थिए । संस्थागत विद्यालयबाट एक सय पाँच जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक सय जना उत्तीर्ण भएका थिए । त्यसैगरी २०८१ को एसईईमा सामुदायिक विद्यालयका ५८१ विद्यार्थीमध्ये २६० जना उत्तीर्ण भएका थिए । संस्थागत विद्यालयका ८६ विद्यार्थीमध्ये ५४ जना उत्तीर्ण भएका थिए । भने २०८० को एसईईमा सामुदायिक विद्यालयबाट ६५८ विद्यार्थी परीक्षामा सहभागी भएकामा ६९ जना मात्रै उत्तीर्ण भएको थिए । संस्थागत विद्यालयबाट ८३ विद्यार्थीले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाले जनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले मात्र नभई विभिन्न सङ्घसंस्थाले समेत काम गरेका छन् । तर शिक्षामा भएको लगानी अनुसार शैक्षिक उपलब्धि हासिल भएको देखिदैन । लगानीको प्रभावकारिता, शिक्षकको नियमितता, कक्षाकोठामा हुने पठनपाठन, विद्यार्थीको सिकाइ उपलब्धि, विषयगत नतिजा तथा विद्यालय व्यवस्थापनको अवस्थाले शैक्षिक वातावरण तयार हुन्छ । सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको तुलनामा कमजोर सम्बन्धित निकायको जिम्मेवार बन्नपर्ने देखिन्छ ।


