
प्रकाश पौडेल, गुलरिया । बर्दियामा करिब दुई सय जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बर्दिया अस्पताल गुलरियाको तथ्यांक अनुसार बर्दियामा १ सय ९० जना स्क्रब टाइफसका बिरामी फेला परेका हुन।
अस्पतालमा १ हजार ५६० जनाको स्वास्थ्य चेकजाँच गर्दा १ सय ९० जनामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।अस्पतालका मेडिकल रेकर्डर एवम् सूचना अधिकारी केशब न्यौपानेले चालू आर्थिक वर्ष २०८३र०८४ को असोज २० गतेसम्म अस्पतालमा उपचार गर्न आएका बिरामी स्क्रब टाइपसको लक्षण देखिएपछि आरडिटी किटको प्रयोग गरेर स्वास्थ्य जाँच गर्दा १ सय ९० जनामा स्क्रब टापफस देखिएको जानकारी दिनुभयो ।

स्क्रब टाइफस ओरेन्सिया सुसुगामुखी जीवाणुको टोकाइबाट लाग्ने रोग हो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो सानो किराको टोकाइबाट हुन्छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/०८३ मा दुई हजार ५१४ जनामा, आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार १६३ जनामा र आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५०३ जनामा स्क्रब टाइफस देखिएको थियो ।
स्क्रब टाइफस रोग लागेपछि ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, आँखा रातो हुने, डाबर आउने र र किराले टोकेको ठाउँमा दाग देखिने गरेको अस्पतालका मेडिकल अधिकृत भरत भण्डारीले बताउनु भयो ।
उहाँले स्क्रब टाइफसबाट बच्न , वनजंगल वा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने र जुत्ता लगाउने, भुइँमा बस्दा गुन्द्री वा दरी ओच्छ्याएर बस्ने, खाट वा अग्लो स्थानमा सुत्ने, घर झारपात बढ्न नदिने र घर वरिपरि रहेका मुसा नियन्त्रण गर्न सुझाव दिनुभयो ।
स्क्रब टाइफसको परीक्षण सरकारले निःशुल्क गर्ने व्यवस्था गरे पनि पर्याप्त र नियमित कीट नगराउँदा बिरामीले शुल्क तिरेर परीक्षण गर्नुपर्ने अवस्था छ। स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको सेवाको सूचीमा यी रोगको परीक्षण समावेश छैन ।


