
प्रकाश पौडेल, गुलरिया । बर्दियाको गुलरियामा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धि छलफल गरिएको हो।
सामुदायिक वनहरूले कार्ययोजना बनाउँदा वनभित्र घाँपात गर्न जान, सामुदायिक वनको झाडी सरसफाइ गर्न जान समेत डिभिजन वन कार्यालय रोक लगाउने गरेको सामुदायिक वनका पदाधिकारीको आरोप छ । हिजो समुदाय वनका उपभोक्ताले जोगाएको वनमा घाँस दाउरा गर्न जान समेत कार्ययोजना बनाउनु पर्ने भएपछि उपभोक्ताहरू मारमा परेको छन् । सामुदायिक वनको कार्ययोजना बनाउँदा लाखौं रुपैयाँ तिरेर प्राइभेट कम्पनीबाट कार्ययोजना बनाउनु पर्ने बाध्यता छ ।

सामुदायिक वनका उपभोक्ताले भोग्दै आएको समस्या समाधान गर्न बुधबार गुलरियामा छलफल गरिएको हो । गुलरिया नगरपालिका, ५ मा रहेको भृकुटी सामुदायिक वन लगाउन समुदायको महत्त्वपूर्ण योगदान भएयता पनि कार्ययोजना नहुँदा धेरै समस्या भोग्नुपरेको सामुदायिक वनको अध्यक्ष शान्ता ज्ञवालीले बताउनु भयो। उहाँले भन्नुभयो , ‘सामुदायिक वनको कार्ययोजना धेरै खर्च लाग्छ । कार्ययोजना बनाउन पुग्ने आयस्रोत पनि सामुदायिक वनको छैन। ’
गुलरिया नगरपालिका, ४ मा रहेको बिन्दवासिनी सामुदायिक वनको कार्ययोजना बनाउन सकेको कारण वनभित्र ढलेका काठ निकाल्न नमिलेर साह्रै समस्या भएको अध्यक्ष भवानी खत्रीले बताउनु भयो । उहाँले भन्नुभयो , ‘वन हेर्ने हेरालुलाई प्रत्येक महिला एक घरले ४० रुपैयाँका दरले उठाएर दिदै आएको छौँ । यस्तोमा वनको कार्ययोजना बनाउने बजेट कहाँबाट ल्याउने । कार्ययोजना बनाउदा लाखौं खर्च हुने भएकोले साना वन समस्यामा भोग्नुपरेको छ ।’
सामुदायिक वनका समस्या बुझ्न सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर प्रसाद भण्डारीले आर्थिक रुपमा कमजोर र सामुदायिक वनबाट आम्दानी नहुने सामुदायिक वनको समस्याको बारेमा आफू जानकार रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामुदायिक वनले भोग्दै आएको समस्याको बारेमा जानकार भएर नै सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धि छलफल चलाइरहेका छौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले पनि यसका लागि पहल गरिरहेको छ।’
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख टोकलराज चापागाँईले नीति नियमभित्र रहेर सामुदायिक वनलाई आवश्यक पर्ने सहयोग गर्न कार्यालय तयारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘साना र आयस्रोत भएका वनले अनेक समस्या भोग्दै आएको बारेमा थाहा छ । तर कार्यालयको पनि आफ्नो सिमा छ त्यहीँभित्र बसेर काम गर्नुपर्ने हुन्छ । कार्यालयको तर्फबाट हुने सबैलाई सहयोग गर्न म तयार छु ।’
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहम्मदकर खाँले सामुदायिक वनको संरक्षण गर्ने काम समुदायले गर्यो ,अब वनबाट आर्थिक आर्यआर्जन गर्ने गरी सामुदायिक वन काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘अब संरक्षण सँगसँगै आयस्रोत बढाउन गरी वनको उपभोग गर्ने नीति अवलम्बन गर्न जरुरी छ । वनसँग जोडेर उद्योग व्यवसाय सञ्चालन गरि गाउँमा स्वरोजगार र रोजगार हुने वातावरण सृजना गर्नुपर्छ ।’


