
रामजान चौधरी ‘राजन’ , संरक्षणकर्मी । प्रकृतिको कुनै सीमा हुँदैन । यसको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। प्राकृतिक सम्पदाहरु जस्तै हिमाल, पहाड, तराईमा पाइने बाघ, गैँडा, हात्ती, हिउँचितुवा दुर्लभ वन्यजन्तुको संरक्षण गर्नु हाम्रो दायित्व हो । जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालबाट प्रतिनिधित्व गर्दै मैले आफ्नो जीवनका करिब तीन दशक पर्यटन तथा प्रकृति संरक्षणको क्षेत्रमा बिताएको छु।


मेरो व्यावसायिक यात्राको सुरुवातदेखि नै प्रकृतिमा आधारित जिम्मेवार पर्यटन हो । प्राकृतिक सम्पदाको संरक्षणमा, स्थानीय समुदायको सशक्तीकरण र दिगो आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ भन्ने विश्वास रहँदै आएको छ। यसै सन्दर्भमा १२ सेप्टेम्बरदेखि ३ अक्टोबर २०२६ सम्म मैले अफ्रिकाको सुन्दर तथा जैविक विविधताले भरिपूर्ण देश बोट्स्वानाको ओकाभाङ्गो डेल्टा र चोबे क्षेत्रका प्राकृतिक क्षेत्रहरूको तीन सातासम्म अध्ययन, अवलोकन तथा अनुभव आदानप्रदान गर्ने विशेष अवसर प्राप्त गरेँ।

विश्वप्रसिद्ध प्रकृति संरक्षण तथा जिम्मेवार पर्यटन कम्पनी &Beyond को विशेष निमन्त्रणामा म त्यहाँ पुगे । यो भ्रमण मेरो लागि केवल वन्यजन्तु अवलोकन वा सफारी अनुभवमा सीमित थिएन। एक नेपाली प्रकृतिविद्, पर्यटन व्यवसायी तथा संरक्षणकर्मीका रूपमा जिम्मेवार पर्यटनका अभ्यासहरू बुझ्ने, संरक्षणका अनुभव आदानप्रदान गर्ने र पर्यटनमार्फत प्रकृति तथा स्थानीय समुदायलाई कसरी लाभान्वित गर्न सकिन्छ भन्ने विषयमा सिक्ने मेरो मुख्य उद्देश्य थियो। यस भ्रमणका क्रममा मैले &Beyond Nxabega Okavango Tented Camp, &Beyond Sandibe Lodge तथा &Beyond Chobe Under Canvas Mobile Camp and Wild Impact Community Projects लगायतका पर्यटन प्रतिष्ठानहरूको भ्रमण तथा अवलोकन गर्ने अवसर पाएँ।

बोट्स्वानाको वन्यजन्तु संसार साँच्चिकै अद्भूत छ। यस यात्राका क्रममा अफ्रिकी हात्ती, सिंह, चितुवा, चित्ता, अफ्रिकी जंगली कुकुर, हाइनाहरू, जिराफ, जेब्रा, जलगैँडा तथा विभिन्न प्रजातिका चराचुरुङ्गी र अन्य वन्यजन्तुहरूको अवलोकन गर्न पाउनु मेरा लागि अविस्मरणीय अनुभव रह्यो। भ्रमणका क्रममा मैले १४४ वटा चरा, ३६ वटा स्तनधारी वन्यजन्तु, ७ वटा सरीसृप तथा २ वटा उभयचर प्रजातिका देख्ने अवसर प्राप्त गरे ।

मेरो भ्रमणको सबैभन्दा महत्वपूर्ण उपलब्धि वन्यजन्तु अवलोकनमा मात्र सीमित रहेन। मैले विशेष चासोका साथ पर्यटन प्रतिष्ठानहरूले प्राकृतिक रूपमा संवेदनशील क्षेत्रमा कसरी वातावरणमैत्री ढङ्गले सञ्चालन गरिरहेका छन् भन्ने विषय अध्ययन गरेँ। विशेषगरी प्राकृतिक स्रोतसाधनको मितव्ययी प्रयोग, पानी व्यवस्थापन, फोहोर न्यूनीकरण, पुनः प्रयोग तथा पुनः प्रशोधन, वैकल्पिक ऊर्जा, वातावरणमैत्री संरचना निर्माण र जैविक फोहोरको सदुपयोगजस्ता अभ्यासहरू मेरा लागि महत्वपूर्ण सिकाइ बने।

त्यसैगरी पर्यटन व्यवसाय र स्थानीय समुदायबीचको सम्बन्ध, स्थानीय रोजगारी, व्यावसायिक तालिम, कृषि तथा जीविकोपार्जनमा सहयोग, शिक्षा र संरक्षण चेतनाका गतिविधिहरूले पनि मलाई विशेष प्रभावित बनाए। त्यहाँ कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता, समर्पण, विनम्रता, आपसी सहयोग र अतिथि सत्कार साँच्चिकै प्रशंसनीय थियो। यी अनुभवले मलाई सफल जिम्मेवार पर्यटन भनेको सुन्दर प्राकृतिक दृश्य र आकर्षक आवासीय सुविधा मात्र होइन। यसका लागि वातावरणीय जिम्मेवारी, दक्ष जनशक्ति, नैतिक नेतृत्व, स्थानीय समुदायसँगको सहकार्य र दीर्घकालीन संरक्षण प्रतिबद्धता अनिवार्य हुन्छ भन्ने सिकाएको छ ।

भ्रमणका क्रममा स्थानीय समुदायका मानिसहरूसँग भेटघाट गर्ने । उनीहरूको दैनिक जीवन बुझ्ने अवसर पनि मेरा लागि निकै भावनात्मक तथा ज्ञानवर्द्धक रह्यो। यस अनुभवले वन्यजन्तु संरक्षण स्थानीय समुदायको आवश्यकता र जीवनस्तरबाट अलग राखेर सम्भव हुँदैन भन्ने तथ्यलाई पुनः स्मरण गरायो। संरक्षण सफल बनाउन स्थानीय समुदायलाई रोजगारी, शिक्षा, सीप विकास, आयआर्जन र संरक्षणका गतिविधिमा अर्थपूर्ण सहभागिताका अवसर उपलब्ध गराउन आवश्यक छ। मानव–वन्यजन्तु सहअस्तित्व, स्थानीय रोजगारी, सामुदायिक सहभागिता र दिगो जीविकोपार्जनलाई संरक्षण रणनीतिको केन्द्रमा राख्नुपर्छ।

नेपाल र बोट्स्वानाको भौगोलिक, सांस्कृतिक तथा आर्थिक अवस्था फरक भए पनि दुवै देश प्राकृतिक सम्पदा र प्रकृतिमा आधारित पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त छन्। नेपालका हिमाल, राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, सिमसार क्षेत्र, नदी प्रणाली, बाघ, गैँडा, हात्ती, हिउँचितुवा तथा विविध सांस्कृतिक सम्पदाले जिम्मेवार पर्यटन विकासका लागि अपार सम्भावना बोकेका छन्।

बोट्स्वानामा देखेका केही अभ्यासले नेपालमा पनि वातावरणमैत्री पर्यटन संरचना, प्राकृतिक स्रोतसाधनको प्रभावकारी व्यवस्थापन, व्यावसायिक तालिम, सामुदायिक सहभागिता, निजी क्षेत्रको जिम्मेवारी र संरक्षण साझेदारीलाई थप सुदृढ बनाउन सकिने सम्भावनाबारे मलाई गम्भीर रूपमा सोच्न प्रेरित गरेको छ। यद्यपि बोट्स्वानाका अभ्यासहरू नेपालमा लागू गर्दा हाम्रो आफ्नै भौगोलिक, पर्यावरणीय, सांस्कृतिक तथा सामाजिक अवस्थाअनुसार अनुकूलन गर्न आवश्यक हुन्छ। नेपाल र बोट्स्वानाबीच पर्यटन, प्रकृति संरक्षण र व्यावसायिक ज्ञान आदानप्रदानका क्षेत्रमा थप सहकार्यको सम्भावना पनि देखिन्छ।

पर्यटन तथा संरक्षण क्षेत्रमा करिब तीन दशकको व्यावसायिक यात्राका क्रममा मैले अन्तर्राष्ट्रिय रूपमा परिचित संरक्षणकर्मी, अन्वेषक तथा वन्यजन्तु सम्बन्धी व्यक्तित्वहरूसँग अनुभव आदानप्रदान गर्ने र विभिन्न वन्यजन्तु वृत्तचित्र तथा अनुसन्धानसम्बन्धी गतिविधिमा सहभागी हुने अवसर प्राप्त गरेको छु। तर म आफूलाई आज पनि प्रकृतिको एक विद्यार्थीका रूपमा नै लिन्छु। किनभने सिकाइको कुनै अन्तिम बिन्दु हुँदैन। प्रत्येक जंगल, नदी, सिमसार, हिमाल र वन्यजन्तुले हामीलाई प्रकृतिका नयाँ रहस्य बुझ्ने अवसर प्रदान गर्छन्।

यस भ्रमणको अवसर प्रदान गर्न &Beyond , विशेषगरी दक्षिण अफ्रिकी लज तथा एसिया विस्तारका प्रबन्ध निर्देशक जेसन किङ, व्यवस्थापन टोली, मेरा मार्गदर्शक तथा सम्पूर्ण समर्पित कर्मचारीहरूप्रति म आभारी छु । उहाँहरूले देखाउनुभएको आतिथ्य, सहयोग, ज्ञान आदानप्रदान र सिकाइको अवसरले मेरो भ्रमणलाई अझ अर्थपूर्ण बनाएको छ। म नेपाल फर्कंदा नयाँ अनुभव, व्यावसायिक सिकाइ, आत्मीय सम्बन्ध र प्रकृति संरक्षणप्रतिको थप प्रतिबद्धता लिएर फर्कंदै छु ।

पर्यटन जिम्मेवार भयो । स्थानीय समुदाय सशक्त भए। प्रकृतिलाई सम्मान गरियो भने संरक्षण अझ प्रभावकारी र दिगो बन्न सक्छ। हिमालयदेखि ओकाभाङ्गो डेल्टासम्म हामी फरक देशमा बस्न सक्छौँ, फरक भाषा बोल्न सक्छौँ, तर हाम्रो पृथ्वी एउटै हो र यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको साझा हो।

रामजान चौधरी ‘राजन’ नेपालका पर्यटन व्यवसायी, प्रकृतिविद् तथा संरक्षणकर्मी हुनुहुन्छ।


