
प्रकाश पौडेल, गुलरिया । बर्दियामा मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धी अन्तरक्रिया गरिएको छ । आइतबार गेरुवा गाउँपालिका , १ इन्टेकमा मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
गेरुवा गाउँपालिकाको आसपासको क्षेत्रमा बाघले घरपालुवा जनावर र हात्ती तथा गैँडाले बालिनाली खान थालेपछी पछिल्लो समय गेरूवामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएपछि त्यसको न्यूनीकरणका उपाय खोजी गरि मानव वन्यजन्तु सहअस्तित्व कायम कसरी गर्ने भन्ने बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको पाताभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तिलक बन्डालेले बताउनु भयो ।

वन्यजन्तु हाम्रो प्राकृतिक सम्पदा हुन चाडपर्वको बेलामा वन्यजन्तुको चोरी सिकार हुन सक्ने भएकोले चोरी सिकारलाई नियन्त्रण र समुदाय देखिएको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय खोज्न लागि यो अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण भएको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा हेमन्त प्रसाद आचार्यले जानकारी दिनुभयो ।
‘चोरी सिकार नियन्त्रण गर्न समुदाय भूमिका महत्वपूर्ण छ । त्यहीँ भएर अन्तरक्रिया कार्यक्रमसँगै सामुदायिक चोरी सिकारी नियन्त्रण युवा परिचालन सञ्जालको कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ, ’ उहाँले भन्नुभयो, ‘ गेरुवामा मानव वन्यजन्तु सहअस्तित्व कसरी कायम गर्न सकिन्छ उपायको बारेमा खोजी गर्न बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि, सामुदायिक चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान पश्चिम सेक्टरका प्रतिनिधि, नेपाली सेना, स्थानीय लगायत सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको हो। ’
सामुदायिक चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान सञ्जाल पश्चिम सेक्टरको आयोजनामा अध्यक्ष गोविन्द्र योगीले कार्यक्रममा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको संरक्षण तथा स्थानीय समुदायको सुरक्षाका विषयमा छलफल गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मानव वन्यजन्तु सहअस्तित्व कायम गर्न समुदायको भूमिका र संरक्षण अभियानलाई प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया केन्द्रिय गरिएको थियो । ’


