
कृष्णसार अनलाइन । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष एवम् कवि राजेन्द्र धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’को ललितपुरमा विमोचन तथा विमर्श कार्यक्रम गरिएको छ ।
कवितामा कर्णालीको भूगोल, जनजीवन, दुःख, संघर्ष, सम्भावना र मौलिक संस्कृतिलाई कविता मार्फत उजागर गरिएको छ । बौद्धिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा कवि धितालको साहित्यिक योगदान, कर्णालीको ऐतिहासिक पृष्ठभूमि, सामाजिक अवस्था, सांस्कृतिक पहिचान र त्यहाँका नागरिकले भोग्दै आएका जीवनबारे चर्चा गरिएको थियो।

कवि धितालले आफ्ना सिर्जना मार्फत कर्णालीका विकट बस्ती, प्राकृतिक सम्पदा, सम्भावना, पीडा, रोग, भोक, आँसु र पसिनालाई कविताको माध्यमबाट प्रस्तृत गरिएको छ । कवि धितालको जुम्लाबाट बर्दियासम्मको जीवन यात्रामा उनले गरेको सङ्घर्ष र अनुभवले साहित्यिक यात्रालाई थप गहिरो बनाएको छ । धिताल शिक्षण पेसालाई अँगाल्दै साहित्य सिर्जनामा निरन्तर सक्रिय रहेका छन् ।
‘प्रिय कर्णाली’ कविता सङ्ग्रहमा विगतमा नुन लिनका लागि जुम्लाबाट बर्दियाको राजापुर तथा नेपालगन्जसम्म पैदल यात्रा गर्नुपर्ने जुम्ली वासीहरूको कठिन जीवनयात्रा र त्यस क्रममा भोग्नुपरेका दुःखद घटनालाई समेत कवितात्मक रूपमा प्रस्तुत गरिएको छ। यसले कर्णालीवासीले विगतमा भोगेका अभाव, कठिनाइ र संघर्षको ऐतिहासिक यथार्थलाई नयाँ पुस्तासम्म गरिएको कवि धितालले बताउनु भयो ।
‘प्रिय कर्णाली’ कविता सङ्ग्रहले कर्णालीको इतिहास, भाषा, संस्कृति, प्रकृति र जनजीवनलाई साहित्यिक दस्तावेजका रूपमा स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कृतिले कर्णालीको पहिचान, सम्भावना र त्यहाँका नागरिकका संघर्षलाई राष्ट्रिय साहित्यिक बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।


