bardiyahospital

बर्दियामा चाडपर्व लक्षित बजार अनुगमन

Geruwa GIF

ज्ञानेन्द्रराज पोखरेल, मैनापोखर । बर्दियामा चाडपर्व लक्षित बजार अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दिया र बढैयाताल गाउँपालिकाको संयुक्त टोलीले चाडपर्व लक्षित बजार अनुगमन गरेको हो ।

पछिल्लो समय खाद्य पदार्थमा देखिएको अखाद्य बस्तुको बढ्दो प्रयोगलाई रोक्न अनुगमनलाई तिब्र बनाइएको छ । पालिकामा रहेका कस्मेटिक पसल, चिया, नास्ता र मिठाई  पसल,  बेकरी तथा केक पसल, खाना तथा  नास्ता  पसल र  किराना पसलको अनुगमन गरिएको बढैयाताल गाउँपालिकाका सहायक प्रशासनिक अधिकृत उसमान साईले बताउनु भयो ।   उहाँले भन्नुभयो, ‘बजार अनुगमनका क्रममा पसलमा मूल्यसूची नराखिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, पर्याप्त सरसफाइ नभएको तथा म्याद गुज्रिएका र  रङ प्रयोग गरिएको खाद्य पदार्थ भेटिएको थियो । अनुगमनका क्रममा भेटिएका कमिकमजोरीलाई सुधार गर्न भनिएको छ ।’

cld

अनुगमन क्रममा पसल सञ्चालकलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, दर्ता नगरी सञ्चालन भएका पसल दर्ता गर्न, सरसफाइमा ध्यान दिन, अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री वितरण नगर्न र अनिवार्य रूपमा बिजबिजक जारी गर्न निर्देशन दिइएको बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत सरोज चौधरीले अनुगमनका क्रममा बेकरी तथा केकमा प्रयोग हुने म्याद नाघेको फ्लेवर डब्बा तथा झिँगा र लामखुट्टे परेको रसबरी र समोसा खाद्यवस्तु नष्ट गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ मिठाइ तथा अन्य खाद्यवस्तुमा अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य मिति लगायत आवश्यक विवरण सहितको लेबल राख्न, खाद्यवस्तुको गुणस्तर कायम गर्न तथा पसल परिसर र खाद्यवस्तु तयार गर्ने स्थानमा विशेष सरसफाइमा ध्यान दिन व्यवसायीहरूलाई निर्देशन दिएको छ ।’

व्यवसायीहरूलाई प्रचलित कानुन, मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत चौधरीले जानकारी दिनुभयो ।

उपभोक्ताको स्वास्थ्य तथा अधिकारको संरक्षण, बजारमा स्वच्छता र गुणस्तरीय खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका जनाएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.