
कृष्णसार अनलाइन । बर्दियाको बाँसगढी नगरपालिका ९, माछागढमा आयोजित दोस्रो वडा स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिताको उपाधि बालकल्याण प्राथमिक विद्यालय (प्रावि) थुमनीले जितेको छ।
लालीगुराँस माध्यमिक विद्यालयको आयोजनामा भएको वडा कप खेलकुद प्रतियोगितामा बालकल्याण प्राविले ५ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल १० पदक प्राप्त गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो। विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने विजेता खेलाडीहरूले पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगितामा गोल्डेन चिसापानी बोर्डिङ स्कुलले २ स्वर्ण, ५ रजत र २ कांस्य गरी कुल ९ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ। त्यसैगरी, मुक्त कमैया प्राविले २ स्वर्ण, १ रजत र ४ कांस्य गरी ७ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।
प्रतियोगितामा विश्व ज्योति आधारभूत विद्यालयले २ रजत र २ कांस्य गरी ४ पदक प्राप्त गरेको छ। लालीगुराँस माध्यमिक विद्यालयले १ स्वर्ण, २ रजत र १ कांस्य तथा बबई इङ्ग्लिस बोर्डिङ स्कुलले २ स्वर्ण र १ कांस्य पदक प्राप्त गरेका छन्।
कर्णाली प्राविले २ कांस्य पदक प्राप्त गरेको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित कात्तिक २० गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २१ गते सम्पन्न भएको हो। प्रतियोगिताअन्तर्गत मार्चपासमा गोल्डेन चिसापानी बोर्डिङ स्कुल प्रथम, बालकल्याण प्रावि दोस्रो र मुक्त कमैया प्रावि तेस्रो भएका थिए।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का वडाध्यक्षलगायत अन्य अतिथिहरूले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए। बाँसगढी नगरपालिका वडा नम्बर ९ को कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो।


