bardiyahospital

कसगढ समुदायको पुर्ख्यौली पेसा संकटमा पर्दा जीवनयापन कष्टकर बन्दै

Geruwa GIF

कृष्णसार अनलाइन । प्रायः सुनसान रहने कसगढ समुदायको घर अगाडि अहिले माटोको दियो किन्नेको भीडभाड छ । तिहार नजिकिएसँगै बर्दियाको गुलरिया नगरपालिका, ७ र ८ महाकवि देवकोटा माध्यमिक विद्यालय नजिक बसोबास गर्ने कसगढ समुदायका सदस्यहरूलाई भ्याइनभ्याइ छ।

वर्षभरि तुलनात्मक रूपमा सुनसान देखिने  बस्तीमा यतिबेला भने छुट्टै चहलपहल छ। कोही विद्युतीय चक्रको सहायताले माटोका दियो बनाउन व्यस्त छन् ।  कोही तयार भएका दियो सुकाउन। केही सदस्य माटोका भाँडाकुँडा भट्टीमा पकाउने तयारीमा जुटेका छन्। तिहारमा माटोका दियोको माग बढ्ने भएकाले कसगढ समुदायका लागि यो समय वर्षकै व्यस्त समय हो। तर आधुनिक  प्रविधिको विकासले गर्दा   विगतमा जस्तो व्यापार हुन छाडेको छ। आधुनिक प्रविधि र विद्युतीय सामग्रीको बढ्दै प्रयोगले माटोका सामग्रीको बिक्री घटेको छ। यसले पुस्तौँदेखि माटोका भाँडाकुँडा बनाउँदै आएको कसगढ समुदायको पुर्ख्यौली पेसा नै संकटमा पर्न थालेको छ।

cld

गुलरिया नगरपालिका–७ का ३९ वर्षीय समसुदिन कसगढले विगतको तुलनामा अहिले माटोका भाँडाकुँडाको व्यापार आधाभन्दा पनि कम भएको बताउनु भयो । तिहारका बेला दियो किन्न आउने ग्राहकको चहलपहल देखिए पनि वर्षभरि व्यापार नहुँदा परिवारको जीविकोपार्जन गर्न कठिन हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘पुर्ख्यौली पेसा छोड्न पनि सकिँदैन,’ उहाँले भन्नुभयो, ‘अहिले महँगीले आकाश छोएको छ। रु। ६ हजारमा एक ट्रली माटो किन्नुपर्छ। भुस र दाउरा प्रतिकिलो रु। १० का दरले किनेर माटोका सामग्री पकाउनुपर्छ। मेहनत धेरै छ ,तर  आम्दानी कम छ।’

माटोका सामग्री तयार पार्न माटो ल्याउनेदेखि आकार दिने, सुकाउने र भट्टीमा पकाउने सम्मका काम गर्नुपर्छ। लामो समय र मेहनत खर्चिएर तयार पारेका सामग्री बिक्री नहुँदा कसगढ समुदायमा थप चिन्ता थपिएको छ। तिहारमा केही दियो बिक्री भए पनि अन्य समयमा व्यापार निकै कम हुने कसगढ समुदायका सदस्यहरूको अनुभव छ।

पुर्ख्यौली पेसा संकटमा पर्नुको कारण बजारमा आएको परिवर्तन मात्रै होइन, कच्चा पदार्थको अभाव पनि हो। गुलरिया नगरपालिका–८ का रज्जबली कसगढले पहिला जस्तो  सजिलोसँग  माटो ल्याउन सकिने अवस्था नरहेको बताउनु भयो । उहाँले सरकारी जग्गाबाट माटो ल्याउन नपाइने भएपछि पेसा सञ्चालन गर्न थप समस्या भएको जानकारी दिनुभयो ।‘पहिला स्थानीय सरकार नहुँदा जताबाट पनि माटो ल्याउन सकिन्थ्यो,’ उहाँ भन्नुहुन्छ , ‘तर आजभोलि त्यस्तो अवस्था छैन। सरकारी जग्गाबाट माटो ल्याउन पाइँदैन।’

समयसँगै मानिसको जीवनशैली र उपभोग गर्ने सामग्रीमा पनि परिवर्तन आएको छ। पहिला पानीलाई चिसो बनाइ राख्न माटोको घैँटो प्रयोग गरिन्थ्यो। अहिले त्यसको ठाउँ फ्रिजले लिएको छ। घरमा उज्यालोका लागि माटोका दियो बाल्ने चलनको ठाउँ विद्युतीय झिलिमिली बत्तीले लिँदै गएको छ।  माटोका खुत्रुके र खेलौनाको सट्टा स्टिल तथा प्लास्टिक र रबरबाट बनेका सामग्रीको प्रयोग बढेको छ।

आधुनिक विज्ञान र प्रविधिको विकाससँगै माटोका सामग्रीको प्रयोग घट्दा त्यसको प्रत्यक्ष असर परम्परागत पेसामा आबद्ध समुदायमाथि परेको छ। विशेषगरी तिहारमा समेत विद्युतीय दियो र झिलिमिली बत्तीको प्रयोग बढेपछि माटाका दियोको बिक्रीमा कमी आएको उनीहरूको बुझाइ छ।यद्यपि, कसगढ समुदायले उत्पादन गरेका माटाका सामग्रीको बजार पूर्ण रूपमा हराइसकेको छैन।

गुलरिया नगरपालिका–८ का रहिस कसगढले तिहारबाहेक अन्य समयमा पनि उनीहरूले बनाएका माटाका सामग्री केही माग सुर्खेत, कैलाली, दाङ, बुटवल, अछाम र रुकुम लगायत जिल्लाबाट आउने गरेको बताउनु भयो ।

माटोबाट बनेका भाडाकुडा केही व्यक्तिहरूले केहीले घरमा राखेर बिक्री गर्छन् भने केहीले स्थानीय हाटबजारमा लगेर सामग्री बेच्ने गरेका छन्। गुलरिया नगरपालिका ७ र ८ को भन्सार रोड क्षेत्रमा करिब १५ घरधुरी कसगढ समुदायको बसोबास छ। माटोका सामग्री बनाउने र बिक्री गर्ने काम उहाँहरूको पुस्तौँदेखिको पेसा हो। यही सीप र मेहनतबाट उहाँहरूले जीविकोपार्जन गर्दै आउनु भएको छ । तर, बजारमा परम्परागत सामग्रीको माग घट्नु, कच्चा पदार्थ जुटाउन कठिन हुनु र उत्पादन लागत बढ्दै जानुले उनीहरूको पेसा निरन्तर संकटमा पर्दै गएको छ। पुर्खाबाट सिकेको सीपलाई निरन्तरता दिन चाहँदाचाहँदै पनि त्यसबाट पर्याप्त आम्दानी नहुँदा यो पेशा संकटमा पर्ने जोखिम छ।

तिहारको समयमा कसगढ बस्तीमा देखिने माटाका दियो बनाउने चहलपहलले उहाँहरूको पुर्ख्यौली सीप अझै जीवित रहेको देखाउँछ। तर, यो सीप र परम्परा जोगाउन बजार, कच्चा पदार्थको सहज उपलब्धता र पेशाको संरक्षण गर्ने वातावरण तयार गर्न आवश्यक देखिन्छ। अन्यथा, आधुनिक झिलिमिलीको उज्यालोमा माटाका दियोसँगै कसगढ समुदायको पुस्तौँदेखिको पेसा जोखिममा छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.