
प्रकाश पौडेल, गुलरिया । हातमा चप्पल लगाएर भुइँमा घिस्रिँदै हिँड्नु उहाँको बाध्यता हो। घरनजिकैको धारा, शौचालय वा अन्यत्र जानुपर्दा उहाँ यसरी नै आवतजावत गर्नुहुन्छ। अलि टाढा जानुपरे हाते तीनपाङ्ग्रे साइकलको सहारा लिनुहुन्छ। तर शारीरिक अवस्थाले उहाँको आत्मविश्वास र केही गरेर देखाउने इच्छाशक्तिलाई रोक्न सकेको छैन। बरु सीपलाई जीवन जिउने आधार बनाएर उहाँ आत्मनिर्भरताको बाटोमा अघि बढाइरहनुभएको छ।
राजापुर नगरपालिका, ९ पकडियापुरका ४० वर्षीय कलेशराम थारू बेतका मुढा, चुरादानी, ढकिया र पलङलगायत सामग्री बनाउनुहुन्छ। कम्मरमुनिको भाग नचल्ने उहाँले शारीरिक कठिनाइका बाबजुद हातकै सीपबाट विभिन्न सामग्री तयार पारेर बिक्री गर्दै आउनुभएको छ। त्यही आम्दानीबाट आफ्नो र परिवारको जीवनयापनमा सहयोग पुर्याइरहनुभएको छ।

थारूको जीवनमा संघर्ष नयाँ होइन। सानैदेखि शारीरिक अपाङ्गताका कारण उहाँले अरूले जस्तो सहज जीवन बिताउन पाउनुभएन। सामान्य आवतजावतदेखि शिक्षासम्मका लागि अरूको सहयोग लिनुपर्ने अवस्था थियो। तर उहाँमा पढ्ने र केही गर्ने चाहना भने सधैँ रहिरह्यो।
त्यही चाहनाले उहाँले करिब २० वर्षअघि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गोडियानाबाट एसएलसी उत्तीर्ण गर्नुभयो। विद्यालय पुग्न र घर फर्किन साथीहरूको सहयोग लिनुपर्थ्यो। साथीहरूले साइकलमा विद्यालय पुर्याउने र घर ल्याउने गर्थे। ‘म राम्रोसँग हिँडडुल गर्न सक्दिनथेँ। साथीहरूले साइकलमा विद्यालय पुर्याउने र ल्याउने गर्थे। उहाँहरूकै सहयोगले मैले एसएलसीसम्मको पढाइ पूरा गर्न सकेँ,’ थारूले विगत सम्झँदै भन्नुभयो।
एसएलसी उत्तीर्ण गरेपछि उहाँमा उच्च शिक्षा हासिल गर्ने चाहना थियो। तर चाहना पूरा गर्न परिस्थिति अनुकूल थिएन। घरनजिकै क्याम्पस थिएन। आर्थिक अवस्था कमजोर थियो। एक्लै बाहिर बसेर अध्ययन गर्न शारीरिक अवस्थाले साथ दिँदैनथ्यो। परिवारको आर्थिक अवस्थाले पनि थप अध्ययनलाई निरन्तरता दिन सम्भव भएन।
‘हामी तीन दाजुभाइ छौँ। जग्गाजमिनका नाममा सात कठ्ठा मात्रै छ। त्यही जग्गाबाट आएको आम्दानीले परिवार चलाउनुपर्ने अवस्था थियो। मेरो शारीरिक अवस्थाका कारण एक्लै बाहिर बसेर पढ्न पनि सक्ने अवस्था थिएन। बुबाआमाले चाहेर पनि थप पढाउन सक्नुभएन,’ उहाँले भन्नुभयो।
पढाइलाई निरन्तरता दिन नसकेपछि थारू सामु अर्को प्रश्न खडा भयो– अब जीवनयापन कसरी गर्ने ? परिवारको कमजोर आर्थिक अवस्था र शारीरिक कठिनाइका कारण अरूको भर परेर बस्नुपर्ने अवस्था आउन नदिन उहाँले आफैँ केही गर्ने सोच बनाउनुभयो।
त्यही क्रममा गाउँमा बेतका सामग्री बनाउने व्यक्तिहरूलाई देख्नुभयो। अरूले बनाएको काम ध्यानपूर्वक हेर्नुभयो। बिस्तारै त्यसैको अभ्यास गर्न थाल्नुभयो। निरन्तरको अभ्यासले उहाँले बेतका सामग्री बनाउन सिक्नुभयो। सुरुमा सिकेको सीपलाई पछि आम्दानीको माध्यम बनाउनुभयो। अहिले उहाँ बेतका विभिन्न सामग्री बनाएर बिक्री गर्नुहुन्छ।
शारीरिक अवस्थाका कारण सहजै हिँडडुल गर्न नसक्ने उहाँका लागि यो काम पनि सजिलो भने छैन। बेतका सामग्री बनाउन आवश्यक कच्चा पदार्थ खरिद गर्न जान समस्या हुन्छ। तयार भएका सामग्री बजारसम्म पुर्याउन पनि कठिनाइ छ। तैपनि उहाँले आफ्नो कामलाई निरन्तरता दिइरहनुभएको छ।
थारूको सबैभन्दा ठूलो समस्या अहिले पुरानो साइकल र कच्चा पदार्थको सहज उपलब्धता हो। करिब १५ वर्षअघि एउटा संस्थाले उपलब्ध गराएको हाते तीनपाङ्ग्रे साइकल अहिले जीर्ण अवस्थामा पुगेको छ। नयाँ साइकल खरिद गर्ने आर्थिक क्षमता उहाँसँग छैन।
‘मैले बनाएका बेतका सामग्री बेचेर सामान्य जीवनयापन गरिरहेको छु। तर आवश्यक कच्चा पदार्थ ल्याउनसमेत समस्या हुन्छ। पुरानो साइकल पनि राम्रोसँग चल्दैन। नयाँ साइकल किन्ने आर्थिक अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले आवश्यक बेत सामुदायिक वनबाट सहज रूपमा खरिद गर्न पाउने व्यवस्था गरिदिए मेरो कामलाई निरन्तरता दिन सजिलो हुने थियो।’
आवतजावतका लागि प्रयोग गर्दै आएको साइकल जीर्ण भएपछि दैनिक कामकाजमा समेत कठिनाइ थपिएको उहाँ बताउनुहुन्छ। अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको उहाँको गुनासो छ।
‘स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिका लागि भनेर हरेक वर्ष बजेट छुट्याउँछ। तर त्यो बजेट मजस्ता व्यक्तिसम्म आइपुग्दैन। पालिकाले कार्यक्रम गरेर बजेट सक्ने गरेको छ। कम्तीमा आवश्यकताको पहिचान गरेर सहयोग गरिदिए हामीलाई राहत हुने थियो,’ उहाँले भन्नुभयो।
थारूको जीवनले अपाङ्गता भएका व्यक्तिलाई दया र सहानुभूति होइन, अवसर र सहयोग आवश्यक रहेको देखाउँछ। उहाँसँग सीप छ, काम गर्ने इच्छाशक्ति छ र आफ्नै श्रमबाट जीवनयापन गर्ने आत्मविश्वास पनि छ। तर आवश्यक सहायक सामग्री, कच्चा पदार्थ र बजारसम्मको पहुँच सहज नहुँदा उहाँको सीपअनुसारको सम्भावना विस्तार हुन सकेको छैन। नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७७ ले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सम्मानपूर्वक जीवनयापनको अधिकार सुनिश्चित गरेका छन्। तर कानुनमा व्यवस्था भएका अधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्दा धेरै अपाङ्गता भएका व्यक्ति अवसरबाट वञ्चित छन्।
अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उनीहरूको क्षमता र रुचिअनुसार सीपमूलक तालिम, स्वरोजगार तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। सीप सिकाएर मात्र पुग्दैन, त्यसको उपयोगका लागि आवश्यक कच्चा पदार्थ, सहायक सामग्री, उत्पादनको बजारीकरण र सहज आवागमनको व्यवस्था पनि गर्नुपर्छ। स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको वास्तविक आवश्यकता पहिचान गरी बजेट तथा कार्यक्रम लक्षित गर्न सके उनीहरूको जीवनयापन सहज बन्न सक्छ।
कलेशराम थारूले शारीरिक रूपमा सहजै हिँडडुल गर्न नसके पनि आफ्नो सीप र मेहनतबाट जीवनलाई अगाडि बढाइरहनुभएको छ। उच्च शिक्षा हासिल गर्ने सपना पूरा नभए पनि आत्मनिर्भर बन्ने अर्को सपना भने उहाँले सीपकै माध्यमबाट पूरा गरिरहनुभएको छ। उहाँको संघर्षले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र अनुकूल वातावरण उपलब्ध गराउन सके उनीहरू पनि आफ्नो खुट्टामा उभिन सक्छन् भन्ने सन्देश दिएको छ।शारीरिक अपाङ्गता हुनु कसैको क्षमता र सम्भावनाको अन्त्य होइन। कलेशरामको जीवनले देखाएको छ– अवसर, सीप र सहयोग पाए अपाङ्गता भएका व्यक्तिहरू पनि आफ्नो परिवारको सहारा बन्न सक्छन्। त्यसका लागि राज्यले उनीहरूलाई सहानुभूति होइन, समान अवसर, सम्मान र आत्मनिर्भर बन्ने आधार उपलब्ध गराउन आवश्यक छ।


