
कृष्णसार अनलाइन ।बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोर संकलन गरी सरसफाइ गरिएको छ ।निकुञ्ज क्षेत्रभित्र पर्ने राजमार्गको सडक किनारमा जथाभावी फालिएका प्लास्टिकजन्य वस्तु तथा अन्य फोहोर संकलन गरी सरसफाइ गरिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गण, र स्थानीयवासी मिलेर सरसफाइ गरेका छन् ।राजमार्गको बाटो भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकले जथाभावी फोहोर फाल्दा सडक किनारमा चाउचाउका खोल, पानीका बोतल, चिजबल र कुरमुरेका खोल यत्रतत्र छरिएका थियो । जसले गर्दा निकुञ्ज क्षेत्रको वातावरण प्रदूषित हुनुका साथै फालिएको प्लास्टिक खाँदाको वन्यजन्तुको स्वास्थ्यमा समेत असर पर्न सक्ने जोखिम बढेको छ ।

निकुञ्जभित्र यात्रु र सवारी चालकले फालेको फ़ोहोरलाई व्यवस्थापन गरी निकुञ्ज क्षेत्रको वातावरण स्वच्छ राख्न तथा फोहोर व्यवस्थापनप्रति यात्रु र स्थानीयवासीलाई सचेत गराउने उद्देश्यले सरसफाइ गरिएको निकुञ्जले जनाएको छ ।


