
प्रकाश पौडेल,गुलरिया । बर्दियामा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु र १५ जना घाइते भएका छन् ।
गुलरिया नगरपालिका, ११ लालपुर स्थित हुलाकी सडकखण्डमा शुक्रबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको CHO1CM9437 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मोटरसाइकल र फोर्स गाडी ठोकिँदा मोटरसाइकल चालक बाँकेको राप्ती सोनारी गाउँपालिका, ५ का ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकलमा सवार ५२ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा गुलरिया नगरपालिका, ८ का ४० वर्षीय गाडी चालक हरि चौधरी, मधुवन नगरपालिका, ६ सानोश्रीकी ४४ वर्षीया रेखा कार्की, मधुवन, ९ धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरी, मधुवन, ९ बाह्र नम्बरकी २८ वर्षीया सृजना मगर र मधुवन, ७ शुक्रबस्तीकी ३३ वर्षीया ऋतु चौधरी रहेका छन् । त्यसैगरी मधुवन , ५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वली, बारबर्दिया नगरपालिका, २ जोगीगाउँका ७७ वर्षीय प्रसाद थारू, गुलरिया, १० कालाबञ्जराकी १९ वर्षीया अर्धना पाठक र १५ वर्षीया अनन्य पाठक घाइते भएका छन् । भने गुलरिया, १ खैरापुरका १८ वर्षीय यमलाल थारु, बाँकेको कोहलपुर नगरपालिका, ३ की ३४ वर्षीया ईश्वरी न्यौपाने, कोहलपुर, ११ की २३ वर्षीया अञ्जली घिमिरे, दाङको तुलसीपुर उपमहानगरपालिका, १२ की २७ वर्षीया लक्ष्मी बिक र चार वर्षीय अनमोल बिक घाइते भएका छन् ।
घाइतेमध्ये ललिता चौधरी, सुरजबहादुर राजी र संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अर्धना पाठक, अनन्या पाठक, अञ्जली घिमिरे, लक्ष्मी बिक र अनमोल बिक सामान्य उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । ।



