मुकुन्द सुवेदी/बर्दिया । रोजगारीको लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली फर्कने क्रमबढे संगै कोरोना भाइरस संक्रमणको सम्भावना बढ्दो छ । बर्दिया जिल्ला प्रवेश गर्ने मुख्य नाका गुलरियाको सुरजपुरबाट छिटफुट रुपमा मात्रै नेपाल भित्रिने गरेका छन् । नेपाल भारत सीमा सुरजपुरबाट जिल्ला प्रवेश गर्नेहरु टाँगा र पैदल हिँड्दै नेपाल भित्रिने गरेका छन् ।
नेपाल भारत बीचको ८२ किलोमिटर खुला सीमा रहेको बर्दियामा मुख्य नाका सुरजपुर बाहेक बढैयाताल गाउँपालिकाको जमुनी, मधुवन नगरपालिकाको धनौरा र ताराताल तथा राजापुर नगरपालिकाको भिम्मापुर नाकाबाट पनि छिटफुट रुपमा जिल्ला प्रवेश गर्नेहरु आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नेपाल भित्रिने बर्दियाको मुख्य नाका गुलरियाको सुरजपुरमै नाकामा अहिलेसम्म स्वास्थ्य चेकजाँचको कुनै व्यवस्था गरिएको छैन । त्यहाँ हेल्थ डेस्क पनि छैन । सामान्य सोधपुछ र अनुमानको भरमा प्रवेश दिइने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहयाक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले भारतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेश विन्दु सुरजपुरमा गुलरिया नगरपालिकासंगको समन्वयमा हेल्थडेस्क स्थापना गर्न लागिएको बताउनु भयो । उहाँले हेल्थ डेस्क स्थापना भएपछि लक्षण देखिएकाहरुलाई सीमामै एन्टिजेन्ट परीक्षण गर्ने र पोजेटिभ देखिए स्थानीय तहको समन्वयमा क्वारेन्टिन वा आइसोलेशनमा राखिने बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले सीमा नाकाहरुमा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापनाका लागि स्थानीय तहहरुलाई पत्राचार र समन्वय गरिएको जानकारी दिनुभयो ।