
प्रकाश पौडेल/गुलरिया(बर्दिया) ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाले करारका अस्थायी,करार र ज्यालादारी कर्मचारीहरु हटाएको विरोध गरेको छ । संगठनले कर्मचारीहरुलाई विना जानकारी साउन १ गते काम नआउनु भन्ने पालिकाहरुले जानकारी दिएको बताउँदै त्यसको बिरोध गरेका हो ।
प्रेस विज्ञप्तीमा बर्दिया जिल्लाका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत अस्थायी,करार र ज्यालादारी कर्मचारीहरुले निरन्तर सेवा प्रवाह गरिरहँदा पनि विभिन्न निकायबाट कामकाजमा नआउनु भनी पत्र, फोन ,म्यासेज लगाएतका माध्यभबाट जानकारी दिने, हाजिरी खाता बन्द गर्ने लगाएतका काम प्रति गम्भिर ध्यानआकर्षण भएको उल्लेख गर्दै त्यस्ता कार्य बन्द गर्न ध्यानआकर्षण गरीएको छ ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी भ्रष्टचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाई सुशासनको प्रत्याभुति गर्नका लागि अस्थायी, करार र ज्यालादारी कर्मचारीको महत्वपुर्ण भुमिका रहेको विज्ञप्तीमा बताईएको छ । स्थानीय तहको निर्वाचन २०७९ पश्चात् पुर्वाग्रही ढंगले अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाईएको बताउँदै यस्तो कामहरु तत्काल बन्द गर्नका लागि विज्ञप्ती मार्फत ध्यान आकर्षण गराईएको छ ।
विज्ञप्तीमा देशका विभिन्न निकायहरुमा कार्यरत करार ,अस्थायी, ज्यालादारी कर्मचारीलाई निष्काशन नगर्न र काममा फकिने वातावरण सृजना गर्न सम्बन्धित पक्षसँग संगठनले माग गरेको उल्लेख गरिएको छ । पेशाकर्मीको आवाजलाई कमजोर ठानेर यस्ता कार्यहरु नरोकिए जिल्ला कार्य समितीले थप संर्घषका कार्यक्रम गर्ने संगठनका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए ।


