Division forest_Ads
Barista_Training

मेरो एउटा साथी छ ! (कथा)

Geruwa GIF

घडीले आठ बजाएपछि, झ्यालबाट घाम खुलेआम भित्र पसेपछि, बेलाबखतमा बाख्राका पाठाहरु पनि आफैँमाथि चढ्न थालेपछि उसको उठ्ने समय सुरू हुन्छ । ऊ उठ्यो । शरीर तन्काएर, लामो हाई काढेर सिँढी ओर्लिएपछि भान्सामा आमालाई नदेखेपछि चिच्यायो :
– आमा मेरो च्या (चिया) खै ?

– हँ ! म यता बाहिर छु । भित्र गएर बना आफैँ । यतिबेला उठेर पनि च्या भन्दै चिच्याउँछ अझ । मान्छेका छोराछोरी काँ पुगिसके, तँ अझै बिहानभरि सुत्छस्, अलिकति पनि लाज लाग्दैन ?

दाहिने हातको चोरीऔँलाले आँखाको कचरा कोट्याउँदै, देब्रे हातले साना–साना प्वाल भएको हल्का पहेँलो गन्जी बाहिरबाट कन्याउँदै ऊ फेरि करायो :
– च्या खै, अहिले पढ्न जान ढिलो हुन्छ ।

– एकछिन काम गर्न पनि के दिन्थ्यो र यसले । आफैँ बनाएर घिचे पनि हुने । सबै मैले नै गर्नुपर्छ । पहिला मुखसुख धोएर आइज ।
स्टीलको बाल्टीबाट एक लोटा पानी उबाएर, मुखलाई पानीले केही भिजाएर, अलिअलिमात्रै सेतो देखिने गन्जीलाई छातीसम्म तानेर मुख पुछ्यो । दलानअगाडिको पेटीमा बसेर कुन्नि के सोचेर एकछिन टोलायो ।

– च्या ला । यति खाएर खुरूक्क बाख्रालाई घाँस काट्दे । दाइ, भाउजूहरुले बाख्रालाई ल्याउन्नन् जस्तो छ । एउटो चिया खाएर खै कहाँ पुग्यो ठेगान छैन ।

आमाको प्रश्नको जवाफमा केही नबोली स्टीलको एक गिलास चिया सक्यो ।

– त्यहीँ बाहिर पेटीमा हैँसे (हँसिया) छ । चिफ्ले भए पनि काटेर ल्याइदे ।

गिलास भुइँमा राखेर, हैँसे समातेर आफ्ना चप्पल खोज्न आफू सुतेकै कोठामा पुग्यो । ओढ्ने सिरकमा देखिएको पहेँलो दाग सुँघेर, नाक खुम्चाएर, चप्पल खुट्टामा छिराएपछि ढोका बन्द गरेर बाख्राको पाठो खोज्न दौडियो । घरपछाडि आनन्द लिएर बसेको पाठोको कानमा समाएर ढाडमा तीन लपेटा लगाएपछि पाठो चिच्यायो : म्याँ, म्याँ, म्याँ ।

– मार्न लागिस् कि के हो कुकुर ? किन हान्छस् पाठालाई ?

– यो गधाले मेरो सिरकमाथि चढेर मुतेछ । कुन दिन यसलाई यही हैँसेले छप्टाउँछु ।

– आफँैले बन्द गर्न सक्दैनस् आफ्नो कोठी ? यसलाई गाली गर्छस् अझ ।
– दिउँसो त्यो धोइदिनू ।
– अरु काम हुँदैन मेरो । तेई काम गरेर बसूलाँ नि ।
– भाउजूहरुलाई भने पनि हुन्छ ।

हैँसे टिपेर, बारीको डोरामा पुगेर चिफ्लेको बोटमा तीन पाइला हालेपछि उसका आँखा मसँग ठोक्किए । फेरि भुइँमा झरेर, आँखामा रहेको कचेरा औँलाले मिच्दै भन्यो :

– के गर्दैछस् ?
– केही नाइँ यार । यत्तिकै बसिराछु ।
– आइज माथ्तिर ।
चिफ्लेको बोटमा चढेर भुइँमा झरेको उसलाई देखेपछि पनि मैले सोधेँ ः
– के काट्न आको थिस् ?
– यही चिफ्ले काट्न आएको यार ।
– परीक्षा कहिलेदेखि छ तेरो ?
– अर्को सातादेखि हो । तँलाई बरू आनन्द छ यार । परीक्षा सकिस् ।
– सधैँका लागि त काँ हो र । केही समय त हो नि ।

केहीबेर गफ गरेर, घाँस काटिसकेपछि भन्यो :

– ल म गएँ यार अहिले, साँझतिर बसौँला ।
– हुन्छ ।
ऊ घरतिर लाग्यो ।
घाँसलाई कुर्सुला (घरपछाडिको भाग)मा राखेर भान्सातिर पस्यो ।
– आमा खाना पस्किनु, ढिलो भैसक्यो ।
– जतिबेला पनि तलाई मात्र हुन्छ हतार ? बा पनि राँगो लिएर गाउँतिर जानुभएको छ, आउने ठेगान छैन । दाइ, भाउजूहरु पनि आएनन् अझै ।
– अरुको कुरा छोड्नु, म कपडा लाएर आइहाल्छु । भात पस्किनू ।

ऊ कोठामा छिरेर, हल्का नीलो पाइन्ट र गाढा नीलो कमिज लगाएर ऐनाअगाडि उभियो । बसाउने तेल गारोमा देखेपछि दाहिले हातलाई कुचुक्क पारी खोचो बनाएर, देब्रे हातले तेल खन्याएपछि टाउकोभरि दल्यो । कपाल लिरिक्क भयो । कोठै बसायो । कानमाथिबाट झुन्डिएका रौँहरुलाई जमराजस्तै मिलाएर पछाडि लग्यो । बीचबाट जुल्फी को¥यो । भान्सामा छि¥यो ।

– आमा, खै भएन अझै ?
– पर्खे, पस्किँदै छु । कति आत्तेको हो । मेरा पनि दुइटामात्रै हात हुन् ।
– बेर हुन्छ फेरि । पढाइ छुट्छ । सरले गाली गर्छन् ।
उसले आमालाई पढाइको मह¤व देखाइदियो ।

Basgadhi PSA_final

खाना खाएपछि झोला बोकेर साथीहरुलाई बोलाउँदै, पर्खिंदै स्कुल पुग्यो । भलिबल खेल्यो, केटीहरुलाई जिस्कायो, कोही केटाहरुले निहँु खोजेमा एक–दुई लपेटा लगायो । यसैगरी उसले स्कुले जीवन बितायो ।
समय सधैँ सोचेजस्तो सजिलो र सहज भएन । एसएलसी दिएपछि एउटा दाइ इन्डियातिरै बस्न लागेपछि, घरमा भएका दाइ, भाउजूहरु छुट्टिएपछि उसले बिदामा इन्डियातिर घुम्न जाने सपनालाई जिउँदै मा¥यो ।
अब घरमा आमा र बाको बीचमा ऊ एक्लै भयो । बाको टाउकोमा कालो कपाल फेला पार्ने अवस्था नभएपछि, मुखमा गिजाहरुले सौन्दर्य लगेपछि, गालामा मुजा देखिएपछि, आमाको स्वास्थ्य अवस्था सम्झिएपछि उसले आफ्नो जीवनलाई अनुमान गर्न थाल्यो ।

बा गाउँभरिमा समाजसेवीको गणना गर्न लाग्दा सबैको हातमा पहिलो नम्बरमै पर्नुहुन्छ । दाइभाइको अंशबन्डा नमिलेमा, साँधको समस्या परेमा, झारफुक गर्नु परेमा, बाख्रा–भैँसीहरुले बच्चा जन्माउन नसकेमा सबैले लिने नाम उहाँकै हो । गाउँको डाक्टरभन्दा पहिलो विश्वास सबैले उहाँलाई गर्छन् । पहिले त महिलाले बच्चा जन्माउन नसक्दा पनि उहाँलाई नै बोलाउने गर्थे, पछि त्यो काम भने हस्पिटलले गर्दा रोकिएको थियो ।

बा दमका रोगी हुनुहुन्छ । आमा पनि बेलाबेलामा बिरामी परिरहनुहुन्छ । अहिलेसम्म गोठमा भएका राँगो र एउटा बोकाले घरखर्च धानेका छन् । सुरूसुरूमा बा बिरामी हुँदा गाउँमा राँगो लैजानु पर्दा उसलाई लाज लाग्यो । बिहान–साँझ अलिअलि घरको काम ग¥र्यो, दिनभर यताउता ग¥र्यो, साँझमा साथीहरुसँग समय बितायो । केही समय उसले यसै गर्दै बितायो ।
दैनिक खाने औषधिले काम गर्न छाडेपछि बालाई दमको समस्याले धेरै नै च्याप्यो । ऊ एक्लै घरनजिकै पर्ने अस्पतालमा लिएर गयो । डाक्टरले भन्यो– हामीसँग सबै औषधि छैनन्, पाल्पा लैजानू ।
बाले भन्नुभयो– भैगो मलाई घरमै लैजा, म बाच्दिनँ अब । मलाई घरमै मर्न मन छ ।

बिरामी हुँदा, धेरै गाह्रो हुँदा बूढाबूढीले यस्तै भन्छन् भन्ने उसले जानेको थियो । आवश्यक पैसा र चाहिने कपडा दाइलाई ल्याइदिन भनेर ऊ पाल्पातिर झ¥यो ।

अवस्था धेरै बिग्रँदै गएपछि, सबैतिर हल्ला मच्चिएपछि गाउँलेहरुले निको होस् भनेर मनमनै प्रार्थना गर्न लागे । नजिक हुने आफन्तहरु हस्पिटलमै पुगे । यो अवस्था आउँदा ऊ आत्तिन थाल्यो । बाको नजिक गएर बस्ने मन हुँदाहँुदै पनि बस्न डराउन थाल्यो । दाइ, भाउजूहरु भित्र भएपछि ऊ बाहिरै बसेर टोलाउन थाल्यो । आफूहरुजस्तै केटाहरु कोही नभएपछि उसलाई नरो सबै ठीक हुन्छ भनेर अरुले सम्झाउँदा पनि उसलाई मन पर्न छाड्यो । एक्लै बेलाबेलामा आँखा रसाउन थाल्यो ।

बाहिरै बसेर टोलाइरहेको थियो । भाउजूहरु भित्रबाट आत्तिँदै आएपछि उसले शरीर कमाउन थाल्यो । भाउजूहरुको बोली सुन्यो :

– कान्छा, भित्र जानू छिटो । पानी ख्वाउनू ।
भाउजूहरु रून लाग्नुभयो ।
उसको बाँध झन् छिटो भत्कियो । भित्र गएर बालाई हेर्ने, अन्तिमपटक भए पनि पानी ख्वाउने हिम्मत एक मुठ्ठी पनि सँगाल्न सकेन । ऊ भित्रै गएन । दुई–तीन जना मान्छेको घेराभित्र रहेर ऊ धेरै समय रोइरह्यो ।
केही मान्छेहरु जम्मा भएर, आवश्यक सामानहरु किनेर दाहसंस्कारका लागि तयारी भयो ।
घाटको सबै काम सकेर, दाइहरुसँगै ऊ घर फर्कियो । आमालाई देखेर, गाउँलेहरुलाई देखेर, बाका कपडाहरु देखेर, बालाई सम्झिएर उसका आँखा फेरि पोखिए ।

तेह्र दिनसम्म गाउँलेहरुले, आफन्तहरुले घर सबै छोपिएपछि उसलाई पहिलेजतिको नरमाइलो लागेन । सबैको बीचमा कान्छो छोरा भएर माया पायो । ऊ केही खुसी भयो ।

सबै काम सकिएपछि, सबै आआफ्नै काममा फर्किएपछि घरमा ऊ आमासँग एक्लै भयो । फेरि आमासँग बसेर सँगै रोयो । उसलाई बाको ओछ्यानले, बाका कपडाहरु सबैले बेलाबेलामा झस्काएपछि आमाको छेउमै आफ्नो बिस्तरा सा¥यो ।
घरखर्च चलाउने जिम्मेवारी उसकै टाउकोमा आयो । बाको लेनदेन सम्झिएको कापीमा टिप्यो, आमालाई सोध्यो, यसैमा केही सम्झियो केही बिर्सियो । सबै भएर पनि केही नभएजस्तो हुन लागेको थियो ऊ ।

दाइहरुको बीचमा कान्छो भाइका रुपमा जन्मिएको ऊ पढ्न चाहेमा पढ्न पाउने, घुम्न मन लागेमा घुम्न पाउने सायद यस्तै वातावरणमा ऊ हुनुपर्ने थियो । तर, ऊ अन्तै भयो ।
समय बित्दै जाँदा बेलाबेलामा उसकी आमा बिरामी पर्न लाग्नुभयो । बिहान उठेर, घाँस सोत्तर गरेर, भैँसी दुहेर, खाना पकाएर खाएपछि घाँस काट्न गएर, घरको काम गरेर उस्तै परे राँगो गाउँमा डुलाएर फर्किंदा राति हुन्थ्यो । अँगेनामा आगो, गोठमा घाँस, सबै रित्तै हुन्थ्यो । आफ्नो भाग्य देखेर, भैँसी देखेर, आफ्नो भोको पेट देखेर र ओछ्यानमा सुतिरहेकी आमालाई देखेर बाहिर एक्लै टोलाउँथ्यो । रसिला आँखाहरुलाई चोरीऔँलाले पुछेर आफैँलाई सम्हाल्दै सबै काम सक्थ्यो ।
घरपरिवारभन्दा टाढा बसेर पढ्न लागेपछि, म वर्षमा प्रायः एक–दुईपटक मात्रै घर पुग्छु । ऊ सामाजिक सञ्जालभन्दा धेरै टाढा भएपछि कतिबेला उसलाई भेटौँ भन्ने मनमा हुटहुटी चलिरहन्छ ।

अहिले पनि दसैँको मौका पारी घरमा पुगेँ । उसको घरमा पुगेर, आमालाई ढोगेर ऊ सुतेको बिस्तराबाट सिरक हटाएर उसलाई भनेँ :

– ओए उठ्, आठ बजिसक्यो । म मन्दिरमा गएर आउँछु ।

मन्दिरमा गएर, तीनपटक घुमेर, फूल र पैसा चढाएर फर्किंदै गर्दा उसले मलाई आफ्नो आँगनबाट हेरिरहेको थियो । आँखालाई मिचेर, लामो कपाललाई मिलाउन खोज्दै भन्यो ः

– मैले त सपनामा आइस् कि भनेको साँच्चीकै आएछस् ।
आमाले ल्याएको चियाको गिलास समातेर ऊतिर फर्किंदै सोधेँ :

– किन यति अबेलासम्म सुतेको होस् ?
– राति तास खेल्न गएर हो ।
के गरोस् बिचरा, साथीहरु खासै छैनन् । गएर एकछिन भए पनि रमाउँछ जस्तो लाग्छ । गाली गर्न पनि मन लाग्दैन । रातिमा छिटै आइज भन्छु, कहिले आउछ कहिले बिर्सिन्छ– आमाले भन्नुभयो ।
– कस्तो खेला खेल्छौ ?
घाटामा जाने खेल होइन । टाइम पास हो– उसले यत्ति भन्यो ।
चिया सकेर आमासँग हैँसे मागेर भन्यो :

– हिँड्, मन्दिरतिर जाऔँ । हिजो बाख्रालाई घाँस काट्न पनि पाइनँ, अहिले काटे दिउँसोलाई सजिलो हुन्छ । यस्तै छ यार गाउँले जीवन । तनावै छ, के गर्नु ? सबै आफ्नै टाउकोमा परिसक्यो । गरिखाने बाटो यहीमात्रै भयो । ऊ चिन्तित भयो ।
– चिन्ता न ले । बाहिर बस्ने पनि सबै खुसी छैनन् । पीडाहरु थुनेर पनि एक्लै मुस्कुराउनुुपर्छ । अरु के छ खबर सुना ।
– केही छैन यार । अब बिहे गरौँ कि जस्तो लाग्न थालेको छ । मन त होइन, बाध्यता आइलाग्यो । आमाको अवस्था सधैँ एकनास हुँदैन । दाइहरुले गर्लान् भन्ने आश छैन । बिहे गरे त भित्रको काम हेर्नु पर्थेन ।

– तैँले त वास्तविक जिन्दगी भोगिसकिस्, बुझिसकिस्, हाम्रो अझै बाँकी छ । सुखदुःख भन्ने चक्र रहेछ । आज धेरै दुःखी भए पनि कुनै क्षणमा सम्हाल्नै नसकिने खुसी आइलाग्छ । चिन्ता न ले ।
मेरो कुरा सुनेर नपत्याएजस्तो गरेर जवाफ फर्कायो :

– यस्तो ठाउँमा बसेर पनि के खुसी आउला र खै ? घाँसदाउरा भन्यो, चिन्ता लियो । योबाहेक के छ र यहाँ ?
– टाई–सुट लगाउँदा राम्रो देखिने अरुलाई मात्रै हो । जीवनमा त खुुसी हुन सक्ने मान्छे नै महान् हो । गाउँमै बसेर पनि सहरमा कमाउन नसकिने पैसा थुप्रैले कमाएका छन् । त्यता फर्किएर हेर्ने गर् ।

म उसका कुरा सुनेपछि कहिल्यै पनि ऊभन्दा ठूलो आफू भएको अनुमान पनि गर्न सक्दिनँ । आमाको काखमा बसेर लडीबुडी गर्दै जीवन बिताउन पनि अक्सर कमैले पाउँछन् । बाहिर बस्ने मान्छे त्यही जीवन बिताउन जीवनभर दौडिरहन्छन् ।
>>[email protected]

Leave A Reply

Your email address will not be published.