काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमबहादुर खत्रीसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।
अख्तियारले खत्रीसहित तत्कालीन नायब सुब्बा रुद्रसेन साहु, बढैयाताल गाउँपालिका वडा नं. ६ बस्ने सैजाद अली तेली र जैनव तेली, वडा नं.६ का वडाध्यक्ष रामहरष थारु र बाँसगढी नगरपालिका वडा नं. ८ की अञ्जना दाहालविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीहरूले बर्दियाको साविक मैनापोखर गाविस वडा नं. १ हाल बढैयाताल गाउँपालिका वडा नं. ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघि २ बिघा ६ कट्ठा जग्गा रहेको जग्गा व्यक्तिको नाममा पास गरेको अख्तियारले जनाएको छ । चिरकुको २०४३ सालमा मृत्यु भई हकखाने कानूनी हकवाला कोही नभएपछि स्थानीय तहको नाममा जानुपर्ने जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरिदिएको अभियोगपत्रमा उल्लेख छ ।
उक्त जग्गा भूमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी बिक्री वितरण गरिएको अभियोग पत्रमा उल्लेख छ । बदनियतसाथ कानूनविपरीत हकवाला कायम गरी जग्गा हाल साविक नामसारी गरी भ्रष्टाचार गरेको कसूरमा ६ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयाे ।