
यज्ञप्रसाद सापकोटा
बर्दिया
बर्दियाको भारतीय सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण यात्रामा रहेका चार सय ४३ जना महिला तथा बालिकाहरूलाई उद्धार गरिएको छ । माइती नेपालले विभिन्न नाकामा रहेको सेवा केन्द्रहरूबाट दुई सय ७३ जना बालिका र एक सय ७० महिलाहरूलाई उद्धार गरेको हो ।

गुलरिया नगरपालिका भित्र बस्ने ९८ जना, मधुवन नगरपालिकाका ६० जना बाँसगढी नगरपालिकाका ५० जना , बढैयाताल गाउँपालिका ४८ जना, बारबर्दिया नगरपालिका ३८ जना ठाकुरबाबा नगरपालिकाका ११ जना, राजापुर नगरपालिका ४ जना र गेरुवा गाउँपालिकाका ४ जनाको उद्धार भएको माइती नेपाल बर्दियाले जनाएको छ । त्यसैगरी बर्दियामा मानव बेचविखन र सुरक्षित बसाइसराइ बारे परामर्श दिई ७४ जनालाई घर फिर्ता गराइएको छ । त्यसैगरी बर्दिया बाहेक अन्य जिल्लाका एक सय ३० जनालाइ उद्धार गरी घर पठाइएकाे छ ।
सन् २०२२ जनवरी देखि हाल सम्म उनीहरूको उद्धार गरीएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो । उहाँले गुलरियाको सुरजपुर, मधुवनको शक्तिपुर र बढैयातालको बलैगाउँमा सञ्चालन गरेको सेवा केन्द्रबाट उनीहरूको उद्धार गरिएको बताउनु भयो ।
बर्दिया जिल्लाका बालिका तथा महिला मात्र नभएर देशका विभिन्न स्थानबाट पनि बर्दियाको बाटो हुँदै मानव ओसारपसार हुँदै आएको छ । बर्दिया मानव ओसारपसारको ट्रान्जिट प्वाइन्ट भएको बताउँदै कार्यक्रम संयोजक रिमालले खुल्ला सिमाना र सीमावर्ती बजारको आवतजावतको कारणले मानव बेचविखन तथा ओसारपसार रोक्न समस्या भएको बताउनु भयो ।
यता सन् २०२२ मा महिला तथा बालबालिका हराएर खोजतलासका लागि एक सय ८ जनाको निवेदन परेको छ । जसमध्ये ११ जना फेला परेका छन् । त्यसैगरी माइती नेपाल बर्दियामा एक सय ९५ ओटा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा एक सय ७७ ओटा मुद्दाको समस्या समाधान गरीएको छ ।
माईती नेपालले बर्दियामा सन् २०१६ देखि काम गर्दै आएको छ । स्थापना काल देखि हाल सम्म बर्दियाका सिमानाबाट एक हजार तिन सय ६५ जना महिला तथा बालबालिकाहरूलाई उद्धार गरेको छ ।


