
प्रकाश पौडेल
गुलरिया
प्रतिनिधि सभा सदस्य संजय गौतमले जन आन्दोलनका शहीद यमलाल लामिछानेलाई आँखा अगाडि गोली लागेको स्मरण गर्दै चोकको विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्नु भएको भएको छ ।
शहीद यमलाल लामिछाने स्मृति प्रतिष्ठानले आयोजना गरेको वृहत रक्तदान तथा सालिक शिलान्यास कार्यक्रममा गौतमले २०६३ बैशाख ८ मा शहीद लामिछाने शवलाई यहीँ चोकमा राखेर यमलाल चोकको नामाकरण गरिएको बताउनु भयो । यस चोकमा शहीदको सालिक राखेर आर्कषक चोक बनाउनका लागि पहल गर्ने उहाँले बताउँदै प्रतिष्ठानले गर्ने हरेक कार्यक्रममा आफूले पनि सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।


संविधान सभा सदस्य श्याम ढकालले शहीद व्यक्ती, समुह र राजनीतिक दलको नभएर देशको हुने भएकोले शहीद हामी सबैको साझा भएको बताउनु भयो । उहाँले शहीदहरूलाई विवादमा ल्याउने काम गर्न नहुने बताउनु भयो । उहाँले शहीदको योगदानले परिवर्तन ल्याउन सफल भएकोले सबैले शहीदको सम्मान गर्न आग्रह गर्नु भयो । साथै उहाँले जनतालाई परिवर्तन अनुभूति हुने गरेर जनप्रतिनिधिले काम गर्नु पर्ने र जनतासँग गरेको प्रतिवद्घता पुरा गरेर जनताको चाहना र शहीद सपना पुरा गर्नु पर्ने बताउनु भयो ।
शहीद यमलाल लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिराज लामिछानेले वृहत रक्तदान कार्यक्रममा रगत दिने रक्तदाताले दिने र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले शहीद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकारले सहयोग गर्नु पर्ने र शहीद यमलालको सम्मानमा कँही कतैबाट कन्जुस्याइँ नगर्न आग्रह गर्नु भयो ।

प्रतिष्ठानका सदस्य लक्ष्मण भण्डारीले शहीद यमलाल लामिछाने स्मृती प्रतिष्ठानको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति समन्वय र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रम गरिएको बताउनु भयो ।
शहीद यमलाल लामिछाने प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादव, नेकपा एमाले केन्द्रिय सदस्य लक्ष्मण ज्ञवाली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष प्रेमप्रसाद पोख्रेल, गुलरिया नगरपालिका वडा नं २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारी, वडा नं ६ का वडा अध्यक्ष सुधासुप्रकाश शर्मा , वडा नंं. ७ का वडा अध्यक्ष मनोज कुमार यादव, सञ्चारकर्मी, स्थानीयवासी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।


