यज्ञप्रसाद सापकोटा
बर्दिया।
बर्दियाको गुलरियामा रहेको श्री बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालयको हाता भित्र र कक्षा कोठामा सिसिटिभी जडान गरिएको छ । विद्यालयको गतिविधि नियाल्नका लागि गुलरिया नगरपालिका ६ नं वडा कार्यालयले सिसिटिभी जडान गरेको हो ।
विद्यालय भित्र हुने चोरी, झैझगडाका साथै शैक्षिक गतिविधि नियाल्नका लागि सीसीक्यामेरा जडान गरिएको हो । सीसीक्यामेरा भिडियो विद्यालयको प्रधानाध्यापकको कोठा, वडा कार्यालय, र गुलरिया नगरपालिका शिक्षा शाखामा हेर्न सकिने छ । त्यसैगरी विद्यालयमा भईरहेका गतिविधि विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षले आफ्नो मोबाइलमा पनि हेर्न सक्नेछन् ।
६ नं वडा कार्यालयको तिन लाख लगानीमा विद्यालय हाता र कक्षा कोठामा गरी १५ ओटा क्यामेरा जडान गरिएको छ । विद्यालयका हातामा नाइट भिजन र कक्षा कोठामा उच्च क्वालिटीकै क्यामेरा जडान गरिएको वडा कार्यालयले जनाएको छ । ३२ ओटा क्यामेरा जडान गर्न सक्ने र ४ टेराबाइट भण्डारण क्षमता भएको हार्डडिस्क जडान गरिएको छ । ३५ दिन सम्म सिसिक्यामेराले खिचेको भिडियो भण्डारण गर्न सक्ने क्षमता रहेको छ ।
विद्यालयका प्रधानाध्यापक मतीराम शर्माले विद्यालय क्षेत्रबाट हुने चोरी र अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सीसीक्यामेराले सहयोग गर्ने बताउनु भयो । कक्षाकोठामा बसेर पढ्ने राम्रा विद्यार्थीलाई प्रोत्साहन गर्न र नपढ्ने विद्यार्थीलाई पढ्ने बनाउनका लागि कक्षाकोठामा समेत सीसीक्यामेरा जडान गरिएको बताउनु भयो । उहाँले भन्नु भयो –‘विद्यालयमा सीसीक्यामेरा अतिआवश्यक थियो जडान गरेपछि शैक्षिक गुणस्तर सुधार गर्न सहज हुनेछ । ’
गुलरिया नगरपालिका ६ नं वडाका वडाध्यक्ष सुधांशु प्रकाश शर्माले विद्यालय, वडा कार्यालय र नगरपालिकाको शिक्षा शाखालाई जोड्नका लागि सीसीक्यामेराले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले विद्यार्थीलाई निगरानी गर्न भन्दा पनि विद्यालयका गतिविधिहरूलाई सहजै नियालेर देखिएका समस्या समाधान गर्नका लागि सिसिटिभी जडान गरिएको बताउनु भयो ।
वडा कार्यालयको सहयोगमा सामुदायिक विद्यालयमा यती धेरै संख्यामा र कक्षाकोठामा समेत सिसिटिभी क्यामेरा जडान गरिएको यो विद्यालय पहिलो हो ।