राजापुर ।
बर्दियाको राजापुर नगरपालिका –१० खैरीचन्दनपुर स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ । गर्भवती महिलाको गर्भमा रहेको बच्चाको अवस्था चेकजाँच गर्नका लागि भिडियो एक्सरे सेवा सुरु भएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखा लुम्बिनी प्रदेशको सहयोगमा राजापुर नगरपालिकाले भिडियो एक्सरे मेसिन प्रदान गरेको हो । । राजापुर नगरपालिकाको खैरीचन्दनपुर क्षेत्र राजापुर प्राथमिक स्वास्थ्य केन्द्र बाट सबैभन्दा टाढा रहेको स्थान हो । सो स्थानका गर्भवती महिलाहरूलाई ११ किलोमिटर टाढा रहेको राजापुर नगर अस्पताल वा २५ किलोमिटर टाढा रहेको बर्दिया अस्पताल गुलरियामा चेकजाँच गराउन जानु पर्ने बाध्यता थियो । भिडियो एक्सरे सेवा स्वास्थ्य चौकी मै सुरु भएपनि स्थानीयलाई सहज हुने भएको छ ।
भिडियो एक्सरे मेसिन राजापुर नगरपालिकाकी नगर उपप्रमुख मनकला कुमारी चौधरीले हस्तान्तरण गर्नु भएको छ । मेसिन हस्तान्तरण गर्दै उपप्रमुख चौधरीले विगतमा गर्भवती महिलाले भोग्नुपरेको समस्या स्मरण गर्दै अबका दिनमा घरदैलोमा ग्रामीण महिला हरूलाई भिडियो एक्सरे सेवा दिन पाउदा खुशी लागेको बताइन् ।
भिडियो एक्सरे मेसिन पोर्टेबल भएकाले भोलिका दिनमा अति आवश्यक र आपतकालीन अवस्थामा घरघरमै गएर पनि सेवा दिन सकिने राजापुर स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भयो ।उहाँले मेसिन चलाउनका लागि रेडियोग्राफी डाक्टर नै आवश्यक पर्ने भएता पनि हाललाई गर्भवती महिलाको बच्चाको अवस्था चेकजाँच गर्नका लागि नर्सिङ स्टाफलाइ तालिम दिइएको बताउनु भयो । मेसिनबाट चेकजाँच गर्नका लागि खैरीचन्दनपुर स्वास्थ्य चौकीबाट अनमी बिना पौडेललाई जिम्मा दिइएको छ ।