अवैध व्यापार नियन्त्रणमा व्यवसायी नै सक्रिय
सीमा नाकाबाट हुने अवैध काम रोक्न सुरक्षा निकाय प्रतिवद्ध छ, प्रमुख जिल्ला अधिकारी रिसाल
प्रकाश पाैडेल बर्दिया (गुलरिया) । सीमा क्षेत्रबाट हुने अवैध आयात व्यापार नियन्त्रणमा कडाई गर्न उद्योगी व्यवसायी आफै सक्रिय भएका छन् । सीमावर्ती भारतीय बजारबाट भन्सार छलेर साइकल तथा मोटरसाइकलमा घरयासी सामान तथा लत्ताकपडा ल्याई घरघरमा पुगेर व्यापार गर्ने क्रम बढेपछि व्यवसायीहरु सक्रिय भएका हुन् ।
केही दिन यतादेखी भारतीय नागरिकहरुले चिट्ठाका नाममा बर्दियाको बाँसगढी क्षेत्रका विभिन्न ठाउँहरुमा घरघर पुगेर घरयासी सामान तथा लत्ताकपडा बेच्ने गरेको पाइएपछि बाँसगढी उद्योग वाणिज्य संघले कडाई गर्दै आएको छ ।
बाँसगढी उद्योग वाणिज्य संघका महासचिव विकास गौतमले बाँसगढी नगरपालिकाभित्र अवैध रुपमा साइकल तथा मोटरसाइकलमा सामान बोकेर व्यापार गर्नेलाई कडाई गरिएको बताउनु भयो । उहाँले स्थानीय उत्पादन र व्यापार व्यवसाय धरापमा परेका बेलामा बाहिरबाट अबैध रुपमा कारोवार हुदाँ राजश्व चुहाउट हुने र कारोबारमा असर पर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘खुला सीमा भएकाले भारतीय नम्वर प्लेट गाडी तथा मोटरसाइकलहरु एउटा उदेश्यका लागि आएर अर्को काम गर्ने गर्दछन् । अवैध सामान भित्रिदाँ एकातिर स्थानीय व्यापार व्यवसाय शुन्य भएको छ भने अर्कोतिर राजश्व गुमिरहेको छ ।’
पछिल्ला दिनहरुमा साइकल र मोटरसाइकलमा घरायसी सामान, लत्ताकपडा घरघरमा पुगेर व्यापार गर्नेको संख्या बढेकोे छ । यसरी व्यापार गर्न आउनेहरुले ल्याउने साम्रागीको गुणस्तर के कति र मूल्य भन्नेमा कुनै निकायले अनुगमन गरेको पाइदैन भने सरोकारवाला निकायले यस तर्फ ध्यान गएको छैन । सामान खरीद गर्ने उपभोक्ताले घरमै सजिलै र सस्तोमा पाइएको भन्दै सामान खरीद गरेपनि ठगिदै आएका छन् ।
जिल्लाका आठवटा पालिका मध्ये चारवटा पालिका भारतीय सीमा क्षेत्रसंग जोडिएका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सीमा नाकाबाट हुने अवैध काम रोक्न सुरक्षा निकायलाई निर्देशन दिएर मान्छेको आवतजावत बढी हुने ठाँउमा सुरक्षा निकाय परिचालन गरेर कडाई गरिएको बताउनु भयो । अवैध रुपमा साम्रागी ल्याएको पाइएमा पक्राउ गरेर कानुनी दायरामा ल्याउने र पक्राउ परेका अवैध साम्रागी राजश्व अनुसन्धान कार्यालय र भन्सार कार्यालयमा पठाउने गरिएको बताउनु भयो ।
राजापुर भन्सार कार्यालयका प्रमुख मनोज बस्नेतले भारतीय सवारी साधनले मालवस्तु ल्याउदा अस्थाई पैठारी गरेको हुनु पर्ने, भन्सार कार्यालयको प्रज्ञापन पत्र, नगदी रसिद भएका मालबस्तुको ढुवानी गर्न पाइने बताउनु भयो । ढुवानी गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको संख्या हुनुपर्ने र मालबस्तु लाने भनेर तोकिएको स्थानसम्म मात्र लैजान पाइने बताउनु भयो । अन्यथा कानुन विपरित काम गरेको हुने बताउनु भयो ।
साथै कसैले चोरीपैठारी भएको मालबस्तुको जानकारी सम्बन्धीत निकायलाई गराएमा लिलाम भएको राजश्वको २० प्रतिशत पुरस्कार दिने व्यवस्था भन्सार नियमावली २०६४को नियम ४७ मा उल्लेख भएको बताउनु भयो ।
अबैध रुपमा व्यापार गर्न प्रयोग भएका सात वटा मोटरसाइकल र मोटरसाइकलमा ल्याएको ३० वटा एलईडी टि.भी, १० पिस कुर्तासुरुवाल, एक सय वटा हटकेश र लाइट साथै चिट्ठा सहित एकजनालाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको महासचिव गौतमले जानकारी दिनुभयो ।