
काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले चीनले नेपालका कम्युनिस्टहरू मिलुन् भनेर सद्भाव/सन्देश पठाएको बताउनु भएकाे छ ।
पूर्वसभामुख समेत रहेका सापकाेटा १२ दिने चीनको भ्रमणबाट शुक्रबार फर्किनु भएकाे हाे । उहाँले भन्नुभयाे, “चीनले नेपालका कम्युनिस्टहरू मिलून् भन्ने चाहन्छ, त्यही सन्देश छ ।”

उपाध्यक्ष सापकाेटाले “तर उहाँहरूले पटक-पटक निर्णय लिनेचाहिँ तपाईंहरूले नै हो है भनेर भन्नुभएको छ । त्यसमा कुनैखाले हस्तक्षेप नगर्ने उहाँहरूको प्रतिबद्धता छ । स्वाभाविकरूपमा एउटा कम्युनिस्ट पार्टीले छिमेकी देशको अर्को कम्युनिस्ट पार्टीलाई सद्भाव त अवश्य दिने नै भयो ।”
उहाँले नेपाल सिस्टम नभएर बिग्रेको टिप्पणीसमेत गर्नु भयाे । “चीनमा सिस्टम छ, यहाँ छैन । सिस्टमको अभाव छ यहाँ । अरु कुरा जे भएपनि त्यहाँचाहिँ सिस्टम छ । यदि सिस्टम भयो भने सबै कुराहरू आफैँ चल्दारहेछन्, यहाँचाहिँ सिस्टम नै नभएर बिग्रिएको छ,” उहाँले भन्नुभयाे ।
उनले अस्थिर राजनीतिका कारण नेपाल कमजोर बनेको बताए । “चीनमा दूरदृष्टि, इच्छाशक्ति र प्रतिबद्धताको बेजोड संयोजन देखियो सबै क्षेत्रमा । हाम्रोचाहिँ त्यो छैन । पहिलो कुरा त राजनीतिकरूपमा स्थिरता चाहिने रहेछ,” उनले भनेका छन् ।


